राष्ट्रिय |

‘कोरोनाभन्दा समाज जित्न गाह्रो भयो’

प्रदेश १ ब्यूरो

विराटनगर, भदौ २८ गते । उदयपुरको त्रियुगा नगरपालिका वाड नं ३, भूल्केका पहिलो कोरोना सङ्क्रमित १९ वर्षीय इमरान अहमदको दैनिकी अहिले सामान्य भइसकेको छ । विगतमा जस्तै अहिले पनि उहाँ आफ्नो खेतबारीको काममा नियमित रुपमै सक्रिय हुनुहुन्छ ।
इमरानसँगै सङ्क्रमित हुनुभएका उहाँकै छिमेकी २१ वर्षीय वर्पेस आलमको मनबाट पनि विस्तारै पुरानो डर त्रास हराउँदै गएको छ । गाउँको जनजीवन सामान्य हुँदै गएसँगै विगतका डर त्रास पनि हराउँदै गएका हुन् ।
‘सुरुमा कोरोना भाइरस लाग्यो भनेर थाहा पाउँदा त अहिले यस्तो अवस्थामा फर्किन पाइन्छ जस्तो लागेको थिएन’– सङ्क्रमण पछिको आफ्नो अनुभव सुनाउँदै आलमले भन्नुभयो ।
कारोना भाइरसका पूर्व सङ्क्रमित इमरान र वर्पेसको मात्र होइन, नेपालमै पहिलोपटक समुदाय स्तरमा कोरोना भाइरसको सङ्क्रमण देखिएको भुल्केको जनजीवन पुरानै अवस्थामा फर्किएको छ ।
वैशाखको पहिलो साता भुल्केको नुरी मस्जिदमा बस्दै आएका १२ जना जमातीसहित समुदायका दुई जनामा पहिलोपल्ट कोरोना भाइरस सङ्क्रमण पुष्टि हुँदा सिङ्गो गाउँ नै अछूत जस्तो भएको थियो ।
तरकारी उत्पादनमा निर्भर उक्त गाउँमा उत्पादित तरकारी र दूधसमेत बजारमा बिक्री भएन । “नजिकमा देख्दा र फोन गर्दासमेत सङ्क्रमित क्षेत्रको भनेपछि कोेही बोल्न चाहँदैन थिए तर अहिले त्यो स्थिति छैन । सबै कुरा सहज भएको
छ”– स्थानीय अनिश मियाले भन्नुभयो ।

मुखले सहानुभूति, व्यवहारले हिंसा
विराटनगर महानगरपालिका वडा नंं. १० का ५० वर्षीय भोला भट्टराईले सञ्चालनमा ल्याएको चिया–नास्ता पसल ३० वर्षपछि पहिलोपटक ३० दिन बन्द भयो । भोला चिया–नास्ता पसलका सञ्चालक भट्टराई आफैँ र परिवारका सदस्यहरु नै कोरोना भाइरस सङ्क्रमित भएपछि पसल नै बन्द गर्नुपरेको थियो ।
विराटनगरको मुख्य बजार क्षेत्र ट्राफिक चोकमा रहेको उक्त पसल एक साता अघिदेखि फेरि खुलेको छ । तर पहिले जस्तो अहिले चिया–नास्ता खाने ग्राहक भने त्यहाँ जाँदैनन् । सङ्क्रमणपछि पनि कसैले विभेद गरेको अनुभव नभएको बताउने भट्टराई पसलमा आउने ग्राहक विस्तारै बढ्दै जाने अपेक्षा गर्नुहुन्छ  ।
विराटनगर–५ का चुडामणि आचार्यलाई पनि सङ्क्रमित भएपछि छिमेकीले गर्ने व्यवहारमा परिवर्तन आएको जस्तो महशुस भएको बताउनुहुन्छ । ‘मुखले बोलेर त हैन तर व्यवहारमा देखिइरहेको छ, आउनैपर्ने छिमेकीले पनि अहिले वास्ता नगरेको जस्तो लाग्छ’– प्रदेश १ सरकारका प्रमुख न्यायाधिवक्तासमेत रहनुभएका आचार्यले भन्नुभयो । सङ्क्रमणमुक्त भएपछि आफू दैनिक काममा फर्किसकेको भए पनि सार्वजनिक उपस्थिति र सामाजिक भेटघाट तथा भेलामा सरिक नभएको उहाँले बताउनुभयो ।
‘विश्वव्यापी यो महामारीको बेला समाजमा जो कोही पनि सङ्क्रमित हुन सक्छ, सामाजिक रुपमा हेर्ने दृष्टिकोण फेरिनु पर्दछ’– आचार्यले भन्नुभयो ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यसविरुद्ध कठिन सङ्घर्ष गर्नु भएका विराटनगरका अग्रज पत्रकार मोहन भण्डारीलाई सङ्क्रमणमुक्त भएपछि खासै असजिलो महशुस भएको छैन । सामाजिक रुपमा हात मिलाउने प्रचलन हटेकाले मान्नुपर्नेहरुले सहजै नमस्कार अभिवादन गर्ने गरेको उहाँको भनाइ छ ।
सङक्रमित भएको अवस्थामा लक्षण अनुसारको सतर्कता जरुरी रहेको बताउँदै आत्मबललाई गिराउन नहुने उहाँको सुझाव छ ।

छरछिमेकी नै बोल्न डराए
कोरोना सङ्क्रमण जितेर घर फर्किनु भएकी झापाको दमक नगरपालिका वडा नं ५ की ४३ वर्षीय तुलसा खत्रीको अनुभव पनि निकै तीतो छ ।
निकै ठूलो डर र त्रासलाई पार गर्दै कोरानालाई जितेर घर फर्किए पनि समाजलाई जित्न निकै कठिन भएको उहाँको अनुभव छ । ‘रोगलाई जितेर गाउँ फर्किँदा छरछिमेकी नै बोल्न डराएको देख्दा समाजमा हिँडडुल गर्न नै कठिन भयो’– खत्रीले भन्नुभयो ।
सङ्क्रमित हुँदा पीडित डर र त्रासमा हुन्छ नै, त्यस्तो बेला सबैभन्दा ठूलो सहयोग परिवार र छिमेकीको चाहिने उहाँको अनुभव छ ।
त्यस्तै, झापामै पहिलोपटक सङ्क्रमित हुनु भएका दमक नगरपालिका वडा नं ३ का ६३ वर्षीय देउमान मग्रान्तीको पीडा कम छैन ।
छोरा विदेशबाट आएकाले होम क्वारेन्टाइनमा थिए । परिवारका सबै सदस्यको आरडटी सकेर पीसीआर परीक्षणका लागि स्वाब पनि लगिएको थियो । ‘त्यही बेला घरमा एक्कासी एम्बुलेन्स सहितको टोलीले देउमानलाई कोरोना लागेको जानकारी गराउँदा सुरुमा त के बेहोस जस्तै भएछु’– विगत सम्झँदै देउमानले भन्नुभयो ।
कोसी कोभिड अस्पताल विराटनगरमा २४ दिन बसेपछि कोरोना जितेर घर फर्किएका देउमानले अझै पनि समाजले गरेको नकारात्मक टिप्पणीलाई आफूले जित्न नसकेको बताउनुभयो ।
‘परिवारलाई अझै पनि दबाब छ । मसहित मेरो परिवार सामाजिक रूपमा बहिस्कृत भएको छ’– ६३ वर्षीय देउमानले भन्नुभयो । विराटनगरको स्नातकोत्तर क्याम्पसका समाजशास्त्रका सहप्राध्यापक डिल्ली प्रसार्इँले यसलाई मनोसामाजिक विषयको रुपमा लिनुपर्ने बताउँदै कोरोना भाइरसका सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठनले भनेको कुरालाई सरकारी निकायले बुझाउन नसक्दा यस्तो समस्या आएको बताउनुभयो ।
‘केही व्यक्तिले गरेको व्यवहारलाई सामान्यकरण गर्न नहुने र क्रमिक रुपमा सङ्क्रमित प्रति समाजको व्यवहार सुधार हुँदै गएको छ’– सहप्राध्यापक प्रसार्इँले भन्नुभयो  ।
(गाईघाटबाट भक्तिविलाश पोखरेल, मोरङबाट नवराज कट्टेल र झापाबाट टीकाराम उप्रेतीको सहयोगमा)