अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूतबीच भेटवार्ता
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २९ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ । कार्यकाल सकिएर स्वदेश फर्कनु अघि अध्यक्ष तिमिल्सिनासँग राजदूत जावेदले भेटवार्ता गर्नुभएको हो ।
भेटमा दुई पक्षीय सम्बन्ध, सहकार्य र सहयोग बारे कुराकानी भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी गराएको छ । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा राजदूत जावेदलाई बधाई व्यक्त गर्नुभयो । आगामी दिनमा थप सफलताको कामना पनि गर्नुभयो ।
नेपाल र पाकिस्तानबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि निकट र आत्मीय सम्बन्ध रहँदै आएको तिमिल्सिनाले भेटका क्रममा बताउनुभयो । उहाँले दक्षिण एसियाली क्षेत्रीय संगठन, संयुक्त राष्ट्रसंघ, अन्तर व्यवस्थापिका संघ लगायतका संस्थामा दुई देश एक ठाउँमा रहेकाले सम्बन्ध सौहार्दपूर्ण रहेको धारणा राख्नुभएको उहाँको प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिनुभयो ।
कोरोना भाइरसको महामारीका कारण विश्वभर नयाँ चुनौती सिर्जना भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “पारस्परिक साथ र सहयोगले यस महामारीविरुद्ध हामीलाई लड्न मद्दत गर्नेछ ।” सो अवसरमा उहाँले क्षेत्रीय संगठन सार्कका सदस्य राष्ट्रले अहिलेको चुनौति सामना गर्न सहकार्य गर्न जरुरी रहेको बताउनुभयो ।
नेपाली विद्यार्थीलाई मेडिकल, इन्जिनियरिङ लगायत विषयको अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएकोमा पाकिस्तान सरकारलाई अध्यक्ष तिमिल्सिनाले धन्यवाद व्यक्त गर्नुभएको प्रेस विज्ञ पौडेलले जानकारी दिनुभयो ।
भेटमा राजदूत जावेदले दुई देशको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण रहेको बताउँदै नेपालमा रहँदा सरकार र जनस्तरसम्म नजिकबाट सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । पाकिस्तान दक्षिण एसियाली देशको सहकार्य, स्थायित्व, शान्ति, समृद्धिको पक्षमा रहेको पनि बताउनुभयो ।
दुई देशको संसदबीचको सहकार्य बढाउनु पर्ने बताउँदै राजदूत जावेदले संसदीय मैत्री समूहमार्फत गतिविधि बढाउनुपर्ने सुझाव राख्नुभयो । “पाकिस्तान भ्रमणका लागि हाम्रो सिनेट अध्यक्षले निमन्त्रणा गरिसक्नुभएको छ, पाकिस्तान संसद यहाँको स्वागतको प्रतिक्षामा रहेको छ” राजदूत जावेदले भन्नुभएको प्रेस विज्ञ पौडेलले बताउनुभयो ।