राष्ट्रिय |

दलित उत्थानका निम्ति आर्थिक सशक्तिकरण आवश्यकः मन्त्री गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ३१ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दलित मुक्ती आन्दोलनलाई सफल बनाउन उनीहरुको आर्थिक सशक्तिकरण आवश्यक रहेको बताउनुभएको छ । दलित सेवा संघको २६ औं स्थापना दिवसको अवसर पारेर आयोजित ‘भर्चुअल’ बैठकमा उहाँले दलितहरुलाई कमजोर देखाएर राजनीति गर्न नहुने पनि सबैलाई सचेत गराउनुभयो ।
दूर्गम क्षेत्रका अशिक्षित, गरिव दलितहरुलाई आर्थिक रुपले सशक्त नबनाई उनीहरुको मुक्ति सम्भव नहुने उहाँले स्पष्ट पार्नुभयो । “आज दलितहरु, जनजातिहरु, महिलाहरु समाजमा जसरी पिल्सिएर बसेका छन, उनीहरुको मुक्तिका लागि आर्थिक सशक्तिकरणमा जोड दिनुको विकल्प छैन” उहाँले भन्नुभयो ।
मन्त्री गुरुङले मुक्ति आन्दोलनलाई सफल बनाउन एकतावद्ध भएर अघि बढन पनि दलित समूदायका अगुवाहरुलाई आह्वान गर्नुभयो । “राजनीतिक परिवर्तन भयो तर अझै पनि सामाजिक रुपान्तरण भएन, समाजमा विभेदहरुको अन्त्य भएन, सामाजिक कूरीति र अन्धविश्वासको अन्त्य भएन” मन्त्री गुरुङले भन्नुभयो ।
मन्त्री गुरुङले सामाजिक रुपान्तरणको माध्यामबाट ओझेलमा परेका दलितहरुको मुक्तिका लागि सरकार लागि परेको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दलित समुदायको सशक्तिकरणमा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराउनुभएको मन्त्री गुरुङका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो ।