राष्ट्रिय | पर्यटन |

पर्यटनमन्त्री भट्टराईद्धारा तिलिचो तालको अवलोकन

बेलिना थापा
लमजुङ, कात्तिक १५ गते । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संसारकै अग्लो मध्येको हिमताल तिलिचो तालको अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।
हिमतालको अवस्थाको बारे बुझ्न मन्त्री भट्टराई हेलिकप्टरमार्फत आएर अवलोकन गर्नुभएको हो । उहाँले हिमतालको हालको अवस्था, संरचनाको बारेमा जानकारी लिनुभएको छ ।
पर्यटकलाई सहज बनाउन थप्नुपर्ने संरचनाको बारेमा पनि बुझ्नुभएको छ । मन्त्री भट्टराईले चक्रीय अन्नपूर्ण पदमार्गको ४ हजार ९ सय १९ मिटरको उचाईमा रहेको तिलिचो ताल साथै ३ हजार ५ सय ४० मिटर उचाइमा रहेको गंगापूर्ण तालको अवलोकन गर्नुभएको हो । अवलोकनपछि उहाँले विश्वकै अग्लो स्थानमा रहेकÞो तिलिचो ताल धर्तीको स्वर्गको टुक्रा रहेको बताउनुभयो ।
उहाँले स्थलगत अबलोकनको क्रममा थप प्रवद्र्धन गर्नु पर्ने र पूर्बाधारको विस्तार गर्नु पर्ने आवश्यता महसुस भएको बताउनुभयो । ‘मनाङ जिल्ला उत्कृष्ट छ । मनाङमै रहेको तिलिचो तालले देशलाई चिनाएको छ । ताल वरपर थप संरचना निर्माण गर्नुपर्ने देखिन्छ’ उहाँले भन्नुभयो, ‘थप पर्यटन प्रवद्र्धनका लागि गर्नुपर्ने काम तत्काल गर्छौं । यसलाई अझै सुन्दर बनाउँछौं ।’
तिलिचो ताल अवलोकनको क्रममा मनाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मी समेत हुनुहुन्थ्यो । गंगापूर्ण ताल अवलोकनको क्रममा भने मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले, मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुब गिरीलगायत हुनुहुन्थ्यो । प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङले मनाङका उत्कृष्ट पर्यटकीय स्थलहरु रहेको र थप व्यवस्थित बनाउन सके थप आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने बताउनुभयो ।
उक्त टोलीले मनाङ ङिस्याङ गाउँपालिका १ भ्राताङस्थित स्याउ फार्मको पनि अवलोकन गरेका छन् । एग्रो मनाङ प्रा.लि.ले भ्राताङमा ४५० रोपनीमा लगाएको स्याउ फार्मको अवलोकन गर्दै मन्त्री भट्टराईले उक्त फार्म नेपालकै उत्कृष्ट फार्म रहेको बताउनुभयो । संघीय सांसद पोल्देन छोपाङ गुरुङले थालेको यो कामले अरुलाई पनि उत्साह मिलेको बताउनुभयो ।
सोही क्रममा मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले पर्यटन मन्त्री भट्टराईलाई विकास योजनाबारे ध्यानाकार्षण पत्र दिनुभएको छ ।