राष्ट्रिय | प्रदेश |

मुख्यमन्त्री राउतद्वारा कवि विद्यापति स्मृतिमा शुभकामना 

जनकपुर, मङ्सिर १३ गते। मुख्यमन्त्री लालबाबु राउतले मिथिलाका कविकोकिल विद्यापतिको स्मृति दिवसका अवसरमा देश तथा विदेशमा बस्नुभएका मैथिली समुदायप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा १४औँ शताब्दीको कार्तिक त्रयोदशी तिथिमा जन्मनुभएका कवि विद्यापतिले लेख्नुभएका प्रेम विरह र भक्तिरसका गीतहरु अहिले पनि मैथिल समुदायलाई आह्लादित गर्दछ भनी उल्लेख गरिएको छ ।    
    
उहाँको प्रभाव बङ्गाली, उडिया र नेवारी समाजमा पनि प्रभाव परेको उल्लेख गर्दै सो विज्ञप्तिमा विद्यापतिले लेख्नुभएका गौंरक्षक, विजय नाटक, भूपरिक्रमा, पुरुष परीक्षा कीर्तिलताजस्ता गद्य ग्रन्थ अहिले पनि आदरका साथ पढिने गरेको उल्लेख छ । विद्यापतिको लिखनावलीको प्रभाव नेपाली लिखतमा समेत हेर्न सकिन्छ । उहाँले आफ्नो जीवनको उत्तरार्धकाल नेपालमा बिताउनुभएको र सो अवधिमा अनेकौँ पुस्तकको रचना गर्नुभएको थियो । उहाँ भविष्यवेता पनि हुनुहुन्थ्यो ।    
    
विद्यापतिले आफ्नो मृत्युको सम्बन्धमा गरिएको भविष्यवाणी पुस्तकमा यसरी वर्णन गरिएको छ, “विद्यापतिको अवसान, कात्तिक धवल त्रयोदशी जान ।” अर्थात् कात्तिक त्रयोदशी तिथिमा मृत्यु हुने गर्नुभएको भविष्यवाणी सत्य भएको थियो ।