नक्कली एकाउन्टबाट मन्त्रीदेखि कलाकारसम्म आजित
शान्ति लामा
काठमाडौँ, पुस ४ गते । खानेपानी मन्त्री बिना मगरको नाममा हिजोआज एउटा ट्विटर ह्याण्डल सक्रिय छ । त्यो ट्विटर ह्याण्डल नक्कली भएको मन्त्री मगरको सचिवालयले भनिसकेको छ ।
त्यस ह्याण्डलबाट खानेपानी मन्त्रालय तथा समसामयिक राजनीतिका विभिन्न विषयमाथि टीकाटिप्पणी गरिएको छ । धेरै दिनसम्म ट्विटर प्रयोगकर्ताले उक्त एकाउन्ट मन्त्री मगरकै भन्ने ठानेका थिए । तर गत बुधबार मन्त्री मगरको निजी सचिव गुणराज श्रेष्ठले उक्त एकाउन्ट मन्त्री मगरको नभएको र भ्रममा नपर्न अनुरोध गर्नुभयो । साथै त्यस नक्कली एकाउन्ट बन्द गराइदिन पनि नेपाल प्रहरीको साइबर ब्युरोलाई अनुरोध गरिएको थियो । तर त्यसपछि पनि त्यस एकाउन्ट भने सक्रिय नै छ ।
सामाजिक सञ्जालमा फेक एकाउन्टबाट गायिका रचना रिमाल पनि दिक्क हुनुहुन्छ । उहाँको नाममा पनि दर्जनौँ फेक एकाउन्ट सक्रिय छन् । गायिका रिमालले विभिन्न माध्यममा दिनुभएको अन्तरवार्ताहरुमा फेसबुक र ट्विटरका फेक अकाउन्टहरुका कारण आफू बेलाबखत अप्ठेरो परेको बताउनुभएको छ ।
सूचना प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग गरी बनाइएका असङ्ख्य फेक एकाउन्ट विशेष गरी कलाकार, राजनीतिकर्मी तथा चर्चित व्यक्तित्वहरुको नाममा बनाइएका यस्ता फेक एकाउन्टहरुले समाजमा दिग्भ्रमित पारिरहेका छन् । नेता, कलाकारका मात्र हैन, सर्वसाधारणका फेक एकाउन्ट बनेका छन् ।
त्यस्ता नक्कली एकाउन्टबाट सम्प्रेषण हुने दूषित सामग्रीहरुका कारण सक्कली व्यक्तिलाई भने अप्ठेरोमा पार्ने गरेको छ ।
सामाजिक सञ्जालमा विभिन्न व्यक्तिका नाममा खोलिएका फेक एकाउन्टहरु अश्लील सामग्रीहरु सम्प्रेषण भइरहेका हुन्छन् । कतिपय व्यक्तिको फोटो र नाम राखी खोलिएका सामाजिक सञ्जालका एकाउन्टबारे व्यक्ति स्वयम् अनभिज्ञ रहन्छन् ।
व्यक्तिले आफ्नो नाममा अरुले फेक एकाउन्ट खोलेको थाहा पाएमा भने तुरुन्त प्रहरीमा उजुरी गर्न नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवीन्द्र अर्याल अनुरोध गर्नुहुन्छ । साइबर ब्युरोले हालसम्म बन्द गराउन उजुरी परेका एक हजारभन्दा बढी अनधिकृत एकाउन्टहरु बन्द गराइसकेको उहाँले जानकारी दिनुभयो ।
यस्ता फेक अकाउन्टहरु भ्रम फैलाउने मात्र नभई व्यक्तिलाई गालीबेइज्जती गर्ने, अश्लीलता फैलाउने, दुर्व्यवहार गर्ने, ठगी गर्ने, धम्काउने, ब्ल्याकमेल गर्नेजस्ता क्रियाकलापमा समेत प्रयोग भएको पाइएको एसएसपी अर्यालले बताउनुभयो ।
सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाएर अपराध गर्नेलाई उनीहरुले गरेको अपराधको आधारमा कानुनअनुसार पक्राउ गरी कारबाही गरिने उहाँले बताउनुभयो । ‘जसले जहाँबाट बनाए पनि फेक एकाउन्ट पत्ता लाग्छ । सामाजिक सञ्जालका आधिकारिक कार्यालयसँग समन्वय गरी त्यस्ता एकाउन्ट बन्द गराउँछौँ ।’ उहाँले भन्नुभयो । नेपालमा कुनै पनि सामाजिक सञ्जालका कर्पाेरेट कार्यालय नभएकाले भने केही चुनौती थपिएको उहाँको भनाइ छ ।
चाइल्ड सेफनेटका अध्यक्ष तथा इन्टरनेट सुरक्षासम्बन्धी अभियन्ता अनिल रघुवंशी फेक एकाउन्ट पनि धेरै प्रकारका हुन्छन् । अरुको नाम र तस्बिर राखेर बनाइएको, आफैँले अर्काे नाम राखेर बनाइएको, अर्काको एकाउन्ट ह्याक गरी वा पासवर्ड दुरुपयोग गरिएका, रमाइलोका लागि बनाइएका प्यारोडी एकाउन्ट र आफूले भन्न चाहेका कुरा भन्न लुकेर वा पहिचान लुकाएर बनाइएका जस्ता फेक एकाउन्टहरु हुन्छन् ।
यस्ता फेक एकाउन्टहरु विभिन्न उद्देश्यले बनाइएका हुन्छन् । उहाँका अनुसार मानिसलाई दुःख दिन, होच्याउन, बेइज्जती गर्ने जस्ता गलत प्रयोजनकै लागि धेरैजसो नक्कली एकाउन्टहरु निर्माण गरिएका हुन्छन् । उहाँले भन्नुभयो, ‘यस्ता फेक एकाउन्टबाट राम्राभन्दा नराम्रै काम भएको पाउँछौँ । अश्लील फोटो भिडिओ शेयर गर्ने, नराम्रा मेसेज पठाउने जस्ता गलत काम गरेको पाउँछौँ ।’
धेरै यसरी फेक एकाउन्ट बनाउनेहरुमा आफूलाई कसैले पत्ता लगाउन सक्दैन भन्ने सोच रहने गरेको अध्यक्ष रघुवंशीले बताउनुभयो । तर सामाजिक सञ्जालमा फेक एकाउन्टबाट गलत क्रियाकलाप गर्नेलाई प्रहरीले आइपी एड्रेस ट्रयाक गरी कारबाही गर्ने गरेको उहाँको भनाइ छ ।
साधारपणतः फेक एकाउन्टबाट सम्प्रेषण हुने सामग्री विश्वसनीय नहुने रघुवंशी बताउनुहुन्छ । देशका प्रधानमन्त्री वा नेता वा ठूला कलाकारका नाममा भएका एकाउन्टबाट उट्पट्याङ र अविश्वसनीय सामग्री सम्प्रेषित भएको खण्डमा त्यो नक्कली हुने सम्भावना रहने उहाँले बताउनुभयो ।
उहाँका अनुसार कुनै एकाउन्टबाट अश्लील फोटो तथा भिडिओ सम्प्रेषण भएको छ भने त्यो फेक एकाउन्ट हो ।
फेक एकाउन्टबाट हुने अपराध र गलत क्रियाकलापको सिकार बन्नबाट जोगिन नक्कली शंका लागेका व्यक्तिसँग सामाजिक सञ्जालमा साथी नबन्ने, त्यस्ता एकाउन्टमा च्याट, फोटो भिडिओ शेयर नगर्ने तथा नराम्रा कुराहरु आफूले शेयर गर्न नहुने उहाँको सुझाव छ ।
सामाजिक सञ्जालमा राखिएका फोटोहरु दुरुपयोग गरी फेक एकाउन्ट बनाइने हुनाले राम्रोसँग नचिनेको व्यक्तिसँग सामाजिक सञ्जालमा साथी बन्न नहुने सुझाव अध्यक्ष रघुवंशी सुझाव दिनुहुन्छ । त्यस्तै पासवर्ड राख्दा आफनो नाम, जन्म मिति जस्तो अनुमान गर्न सकिने खालको नराख्ने र अंक, अक्षर, चिन्ह मिलाएर पासवर्ड बनाउनुपर्छ ।
‘टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्ने । बेलाबेलामा पासवर्ड परिवर्तन गर्ने, सबै डिभाइस, एकाउन्टमा फरक फरक पासवर्ड राख्ने गर्नुपर्छ ।’ उहाँले भन्नुभयो । सामाजिक सञ्जालमा आफूले गरेका सामग्रीहरु सबैले देखिनेभन्दा पनि आफ्ना साथीभाइले मात्र देखिने गरी राख्नु पनि महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
कलाकार तथा सार्वजनिक चर्चाका व्यक्तिले आफ्नो एकाउन्टलाई भेरिफाइड बनाएको खण्डमा दुरुपयोग हुने सम्भावना हुने तथा सर्वसाधारणलाई पनि भ्रम नहुने उहाँको भनाइ छ ।