सडकमा भेटिएका दुई बङ्गलादेशी आज स्वदेश फिर्ता
काठमाडौँ, पुस ८ गते । चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन गुजार्दै गर्दा उद्धार गरिएका दुई बङ्गलादेशी नागरिकलाई आज स्वदेश फर्काइँदैछ । सहयोगापेक्षी सडक मावनको उद्धार, संरक्षण र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमले बङ्गलादेशी ममिना बेगम ९गीता० र मोहम्मद बबुल (बाबुलाल)लाई विसं २०७२ मा सडकबाट उद्धार गरेको थियो ।
पाँच वर्ष आश्रममा राखेपछि नेपालस्थित बङ्गलादेशका राजदूतावासमार्फत घर परिवार पहिचान भएको आश्रमका सचिव सुशीला केसीले जानकारी दिनुभयो । आज उहाँहरूलाई चार्टर्ड फ्लाइटमार्फत घरमा पुनःमिलन गराउन लागिएको उहाँले जानकारी दिनुभयो ।
चितवनको रामनगरबाट उद्धार गर्दा बेगमको शरीरभरि कमिलाले ढाकेको थियो । हातको घाउ कुहिएर कीरा परेको थियो । घाउको गन्धले वरिपरि जानै मुस्किल थियो । विक्षिप्त अवस्थाकी बेगमलाई भरतपुर अस्पताल लगेर शल्यक्रिया गरी उपचार गरिएको र अहिले सबै समस्या समाधान भएको आश्रमले जनाएको छ । बाबुलाललाई लम्जुङको सडकमा अर्धचेत अवस्थामा फेला पारिएको थियो । अहिले उहाँ पनि स्वस्थ हुनुभएको छ ।
आज उहाँलाई परिवारमा पुनःमिलन गराउन केसी र अर्का अभियानकर्मी देवेश गुप्तासँगै जाँदै हुनुहुन्छ । उहाँहरुलाई मङ्गलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यले बिदाइ गरिसक्नुभएको छ । आश्रमले यसअघि पनि तीन बङ्गलादेशी नागरिकलाई परिवारमा पुनः मिलन गराइसकेको छ । हालसम्म ४८ विदेशीको परिवारमा मिलन गराइसकिएको छ । अझै झण्डै १०० विदेशी नागरिक आश्रमको संरक्षणमा छन् । त्यसमा धेरै भारतीय छन् । उहाँहरुको पनि परिवार खोजेर मिलन गराउने प्रयास भइरहेको जनाइएको छ ।