‘नेतृत्वलाई जनआन्दोलनको उपलब्धि रक्षा गर्न गजुरेलको आग्रह’
काठमाडौँ, पुस ११ गते ।नेकपाका नेता हरिबोल गजुरेलले दल विभाजनको दुर्भाग्यपूर्ण अवस्थामा पुगे पनि जनआन्दोलनको उपलब्धि नै समाप्त पार्ने गरी गतिविधि नगर्न नेतृत्वलाई आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले एक–अर्काको योगदान र अस्तित्वलाई नै समाप्त पार्ने ढङ्गबाट शीर्ष तहबाटै भइरहेको गालीगलौज र टीक्का टिप्पणी रोक्न दुवै समूहलाई सल्लाह दिनुभयो ।
नेता गजुरेलले भन्नुभयो, “स्थायी समितिको निर्णय विपरीत तथा अरु सम्भावनाको खोजी बिनै संसदीय दलमा समेत छलफल नगरी संसद् भङ्ग गर्ने प्रधानमन्त्रीको कदम त्रुटिपूर्ण छ ।” उहाँले पार्टी विभाजनले उपलब्धी संस्थागत गर्न चुनौती खडा हुने भएकाले तटस्थ रही एकताका लागि आफूले भगीरथ प्रयास गरे पनि अन्तर्राष्ट्रिय चलखेल र स्वयम् नेताकै महत्वाकांक्षाले एकता जोगाउन बाधा पुगेको धारणा राख्नुुभयो ।
पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या र थेग्नै नसक्ने गरी भएको विदेशी चलखेलले नेकपाको विभाजनलाई मलजल गरेको बताउँदै नेता गजुरेलले भन्नुभयो, “पछिल्लो समय थेग्नै नसक्ने गरी नाङ्गोरुपमा भएको विदेशी चलखेलका घटनाक्रमले पार्टी विभाजनलाई थप सहयोग ग¥यो ।”
पार्टीलाई सिद्धान्त र विचारका आधारमा बलियो तुल्याउन गुटबन्दी होइन, विचार समूहको मात्रै अभ्यास गर्नु उचित हुने तर्क गर्दै उहाँले एकता कायम राख्न बालुवाटार जाँदा प्रचण्डको तथा खुमलटार जाँदा प्रधानमन्त्रीको पक्षमा आफूले इमान्दारीपूर्वक वकालत गर्दै आएको घटना सुनाउनुभयो ।