राष्ट्रिय |

उपाध्यक्ष गौतमले बुधबार औपचारिकरुपले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्नुहुँदै


लक्की चौधरी
काठमाडौं, माघ १२ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले बुधबार पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्ने तयारी गर्नुभएको छ । आफ्नो अभियानले पार्टी एकतामा थप बल पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
अभियानबारे सोमबार गोरखापत्र अनलाइनसँग संक्षिप्त कुरा गर्नुहुँदै उपाध्यक्ष गौतमले अभियान घोषणाको सबै तयारी पूरा भइसकेकाले बुधबार काठमाडौंमा एक कार्यक्रम गरी औपचारिक रुपले अभियान घोषणा गरिने जानकारी दिनुभयो । तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता गराउन आफ्नो भूमिका नेतृत्वदायी भएको स्मरण गर्दै नेता गौतमले यस अभियानले करिब फुटको अवस्थामा पुगेको नेकपालाई एक बनाउने विश्वास व्यक्त गर्नुभयो ।
निर्वाचन आयोगले आइतबार नेकपाबारे गरेको निर्णयले आफ्नो अभियानलाई थप बल पुगेको गौतमले बताउनुभयो । आयोगको निर्णय स्वागतयोग्य छ उहाँले भन्नुभयो । आयोगले आइतबार आफ्नो धारणा सार्वजनिक गरेपछि अब पार्टी नेता तथा कार्यकर्ताको ध्यान सर्वोच्च अदालतको फैसलातिर रहेको बताउँदै नेता गौतमले सर्वोच्चको फैसलापछि आफ्नो अभियान थप सशख्त पार्ने बताउनुभयो ।
आफ्नो नेतृत्वको सो अभियानको सहसंयोजक पूर्वमन्त्री हरि पराजुली र सदस्यसचिव नेता बाबुराम थापा रहेको जानकारी दिनुहुँदै नेता गौतमले अभियान औपचारिकरुपमा घोषणा भएपछि पार्टीको ठूलो हिस्सा अभियानमा समाहित हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष केपी शर्मा ओली पक्षका अधिकांश नेताहरु पार्टी एकताको पक्षमा रहेको आफूले भेटेको बताउनुहुँदै नेता गौतमले प्रचण्ड–माधव पक्षका नेताहरु पार्टी फोडेरै जानुपर्ने पक्षमा देखिएको प्रष्ट पार्नुभयो ।
नेकपाको अन्तरिम विधानले पार्टी फुटाउन पनि दुई अध्यक्षको राजीखुशी अनिवार्य रहने व्यवस्था गरेकाले झगडा गरेर पार्टी फुट्न नसक्ने बताउनुभयो । पार्टी फुटाउन केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पु¥याउनुपर्ने बाध्यात्मक व्यवस्था रहेकाले तत्काल पार्टी फुट्न नसक्ने उहाँले दावी गर्नुभयो । पार्टी एकता अभियानले दुई अध्यक्षबीचको आपसी तिक्ततालाई हटाउन सहयोगी भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पार्टी फुट्न हुँदैन भन्ने पक्षमा पूर्व एमालेका ठूलो तप्का छ, मेरो अभियान पनि त्यसैमा केन्द्रित हुनेछ नेता गौतमले भन्नुभयो, “दुई अध्यक्षबीच समन्वयकारी भूमिका खेली दुवैको विजय हुनेगरी मध्यस्थता अभियानले गर्छ, पार्टी फुट्दैन, फुट्न दिइँदैन ।” अहिले अभियानमा ठूलो पङ्ति नरहे पनि निकट भविष्यमै ठूलो जमात अभियानमा सरिक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
“पार्टी एकता कायम राख्नकै लागि मैले कुनै पक्षको अभियानमा हस्ताक्षर गरेको छैन, मेरी श्रीमतीले पनि कुनै पक्षमा हस्ताक्षर गर्नुभएको छैन” उपाध्यक्ष गौतमले भन्नुभयो, “अहिलेसम्म गुटबन्दीमा लागेको छैन, गरेको पनि छैन तर अब पार्टी एक गर्न गुटबन्दी गर्नुपर्ने अवस्था आइसक्यो ।” आफू नेतृत्वको अभियान नै पार्टीमा तेस्रो धारको रुपमा स्थापित हुने उहाँले बताउनुभयो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेमा पार्टी एकता बचाउन थप सहज हुने चर्चा गर्नुहुँदै उपाध्यक्ष गौतमले भन्नुभयो, “संसद पुनस्र्थापना भइहालेमा अध्यक्ष ओलीलाई पराजयको महुशस नहुनेगरी अदालतले भाषा मिलाउनुपर्छ ।” अहिले आफू पार्टी एकता अभियानमै लागेकाले कुनै पक्षमा नगएको बताउनुभयो । भोलि कथंकदाचित पार्टी एकता सम्भव नभएमा एउटा पक्षमा आफू समाहित हुने र छलफल गरेरै लाग्ने प्रष्ट पार्नुभयो ।