राष्ट्रिय |

वाम र प्रजातान्त्रिक शक्तिबीचको एकता र सहकार्यमा जोड 

  
काठमाडौँ, असार १७ गते । राष्ट्रियसभाको आजको बैठकमा सदस्यले मुलुकका सबै वाम र प्रजातान्त्रिक शक्तिबीच एकता र सहकार्यमा जोड दिनुभएको छ । आजदेखि प्रारम्भ भएको आठौँ अधिवेशनको पहिलो बैठकमा उहाँहरुले संविधानमा भएका व्यवस्थाको रक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।    

 सत्ता पक्षका नेता सुमनराज प्याकुरेलले राजनीतिक समस्याको समाधान जनप्रतिनिधिमूलक संस्थाबाट राजनीतिक रुपमै हुनुपर्नेमा जोड दिदै हरेक विषयलाई न्यायालयमा लैजाने प्रवृतिप्रति सचेत रहनुपर्ने धारणा व्यक्त गर्नुभयो । सरकारले ल्याएका विधेयक अत्यावश्यक भएकाले ल्याइएको उहाँको जिकिर थियो ।    
 

राष्ट्रियसभामा नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले बेरोजगारी बढेको तथा शिक्षा, स्वास्थ्य, सामजिक, पर्यटन, कृषिलगायत अन्य क्षेत्रले पनि प्रभावकारी काम गर्न नसकेको टिप्पणी गर्दै कोभिड–१९ को रोकथाम तथा उपचार, बाढीपहिरो र डुबानबाट प्रभावितको उद्धार र राहत सम्बन्धमा आवश्यक कार्य गर्न आग्रह गर्नुभयो ।    
नेकपा (माओवादी केन्द्र) का दीनानाथ शर्माले संविधान जारी भएपछि सहमति र सहकार्यको संस्कृतिको अभ्यास पर्याप्त हुन नसकेकाले पनि अहिलेको संकट उत्पन्न भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले किसानलाई तत्काल रासायनिक मलको व्यवस्था गर्न र बाढीपहिरो पीडितको उद्धार तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।    
 जनता समाजवादी पाटी नेपालका शेखरकुमार सिंह र प्रमिला कुमारीले बाढीपहिरो र डुबानमा परेका जनताको राहतका लागि प्रभावकारी काम गर्न सरकारसँग आग्रह गर्दै मुलुकका वर्तमान समस्या समाधानका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।