विपी उद्यानमा निर्माण कार्य रोक्का गर्न अदालतको आदेश
दिपकप्रसाद गौतम
वीरगञ्ज, असार ३० गते । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले घण्टाघरस्थित विपी उद्यानको जग्गामा निमार्ण भइरहेको पार्किङस्थलको अहिले भइरहेको निर्माण कार्य तत्कालका लागि रोक्न वीरगञ्ज महानगरपालिका कार्यालयविरुद्ध उत्प्रेषण परमादेश जारी गरेको छ ।
वीरगञ्जका धीरज गुप्ताले विपी उद्यानमा भइरहेको सवारी पार्किङ्ग निर्माणको काम रोक्का गर्न अन्तरिम आदेश माग गर्दा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जकी न्यायाधीश शान्ता सेढाईं सापकोटाले उत्प्रेषण परमादेश जारी गर्नुभएको हो ।
साउन ६ गते छलफलको लागि दुबै पक्षलाई बोलाउदै त्यति बेलासम्म विपी उद्यानमा भइरहेको काम रोक्का राख्न उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले आदेश दिएको हो ।
महानगरको स्वामित्वमा रहेको उक्त जग्गा, विपी उद्यान बाहेक अन्य कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न नपाइने भनेर जग्गाधनी पुर्जामा नै लेखिएतापनि महानगरपालिकाले उद्यान निर्माण नगरि सवारी पार्किङस्थल निर्माणका लागि कंक्रीट ढलान गरेर प्राकृतिक संरचना मास्ने काम गरिरहेकाले आफूले अदालतमा रिट निवेदन हालेको धिरज गुप्ताले बताउनुभयो ।
वीरगञ्ज महानगरपालिकाले यसअघि पत्रकार सम्मेलन गरी विपी उद्यानको कुल १० बिघा जग्गामा छ बिघामा उद्यान , दुई बिघामा खुल्ला मञ्च, दुई हजार मानिस बस्न सक्ने क्षमताको सभागृह र बाँकी जग्गामा पार्किङस्थल निर्माण गरिने र पहिलो चरण पर्खाल र पार्किङस्थल निर्माणका लागि कंक्रीट ढलान कार्य सघन शहरी तथा भवन निर्माण आयोजनाले गरिरहेको जनाएको थियो ।
वीरगञ्ज महानगरपालिकाले उद्यान निर्माण नगरी सवारी पार्किङस्थल निर्माणका लागि कंक्रीट ढलान गरेर प्राकृतिक संरचना मास्ने काम गरेको भनेर सामाजिक सञ्जालमा ब्यापक बिरोध भएको थियो ।
नगरप्रमुख सरावगीले वास्तविक कुरा नै नबुझी केही व्यक्तिले विपी उद्यानको बारेमा सामाजिक सञ्जालमा गलत कुरा फैलाएर जनतालाई भड्काउन खोजिएको छ तर यातायात संस्थानसँग महानगरपालिकाले खरिद गरेको जग्गामा विपी उद्यान नै निर्माण गर्नुपर्ने स्पष्ट लेखिएकाले त्यहाँ विपी उद्यान नै बनाइने त्यसमा कोही पनि भ्रममा नपर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।