राष्ट्रिय | फोटो फिचर |

झरीका बीच सहिद नेत्रलाल अभागीको शालिक अनावरण

टीकाबहादुर बस्नेत
दाङ, साउन ३० गते । सहिद नेत्रलाल अभागीको शालिक अनावरण गरिएको छ । दाङको घोराहीमा निर्माण गरिएको शालिकको अनावरण नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले गर्नुभएको हो ।
पानीको झरीकाबीच शहीद नेत्रलालको शालिक अनावरण गरिएको हो । लुम्बिनी प्रदेश सरकारको १५ लाख सहयोगमा शालिक निर्माण भएको निर्माण समितिका कोषाध्यक्ष किरण रेग्मीले जानकारी दिनुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुजिता शाक्य, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलगायतको उपस्थिति रहेको थियो ।

को हुन् नेत्रलाल ?
राजनीति, साहित्य र शैक्षिक व्यक्तित्वका रुपमा परिचित नेत्रलाल अभागीको जन्म वि.सं. २००१ साल पुस २७ गते दाङको धर्ना गाविस वडा नं. २, सिसैपुर गाउँमा भएको थियो । पिता मोहनलाल उपाध्याय र माता जयन्ती उपाध्यायका दशौं सन्तानमध्येमा सबैभन्दा कान्छा सन्तान नेत्रलालको प्रारम्भिक शिक्षा घरमै भएको थियो । २००८ सालमा महेन्द्र मिडिल स्कुल, धर्नाबाट औपचारिक शिक्षा सुरु गरेका नेत्रलालले २०१९ सालमा पद्मोदय व्यवसायिक स्कुल घोराहीबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो ।

महेन्द्र कजेल भरतपुरबाट प्रविणता प्रमाणपत्र तहको शिक्षा हासिल गरेका नेत्रलालले २०२२ सालमा नेपाली विषयमा बिएअनर्स द्वितीय श्रेणीमा उत्तीर्ण गर्नुभएको थियो । नेत्रलालको जीवनको सबैभन्दा महत्वपूर्ण पाटो राजनीतिक जीवन हो । पञ्चायती शासन सत्ताको विरुद्धमा लड्दा ११ वर्ष भूमिगत जीवन बिताउनुभएका नेत्रलालले दाङसहित पश्चिम नेपालमा विभिन्न जिल्लाहरुमा परिवर्तनगामी अभियान सञ्चालन गर्नुभएको थियो । १९ वर्षे राजनीतिक जीवन कालमा अत्यन्त कठोर, भयानक आँधीबेहरी र नेपाली राजनीतिका महत्वपूर्ण कालखण्ड बिताएका नेत्रलालले वि.सं. २०२३ मा केन्द्रको पुष्पलाल समूह निकट रहेर अर्घाखाँची र गुल्मीको संयुक्त प्र.ने.क.पा. जिल्ला कमिटीमा रही काम गर्नुभएको थियो । कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरी शिक्षण, राजनीति र साहित्य तीनै क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

वि.संं २०३१ मा सम्पन्न चौथो महाधिवेशनबाट सुदूरपश्चिमको क्षेत्रीय ब्युरोको सदस्य बनेका नेत्रलाल वि.सं. २०३० साउन २५ गतेदेखि पूर्णरूपमा राजनीतिक गतिविधिमा समर्पित हुन भूमिगत जीवनको यात्रा सुरु गर्नुभएको थियो । वि.सं. २०३६ साउनमा ने.क.पा. (माले) को केन्द्रीय सदस्य बन्नुभएको थियो । वि.सं. २०३६ आषाढ ४ गतेदेखि दाङ जिल्लामा सुरु भएको आन्दोलनको नेतृत्व गर्नुभएका नेत्रलालले जमिन्दार, शोषक, सामन्तको भकारी फोडी किसानहरूलाई वितरण गर्ने कार्य गर्नुभएको थियो ।
नेपाली साहित्य र राजनीतिको पर्याय बनेको ‘सतिसाल मात्र ठिंग उभिनसक्छ’ शीर्षकको कविताका रचनाकार नेत्रलालका रचनाहरु पञ्चायती शासन सत्ताको विरुद्धमा खरो भएर उत्रिएका थिए । प्रगतिवादी विचार धाराका कवि नेत्रलालका ‘नर्कको कथा’ खण्डकाव्य, ‘गंगा–चिनी’ महाकाव्य, ‘सतिसाल मात्र ठिङ्ग उभिनसक्छ’ कवितासङ्ग्रह, र ‘वर्गप्रेम’ कवितासङ्ग्रह प्रकाशित छन् ।

वि.सं. २०२२ मा काठमाडौंको श्री धुम्रबराह बाल सह–शिक्षालयमा शिक्षण गरेका नेत्रलाल २०२३ सालमा जनताको सेवा र जनचेतना विस्तार गर्ने उद्देश्यका साथ अर्घाखाँची जिल्लाको चुत्राबेँसी त्रिवेणीपुरस्थित जनज्योति माविमा शिक्षक हुँदै प्रधानाध्यापक भई काम गर्नुभएको थियो । चुत्राबेसीबाट २०२४ सालमा दाङको नारायणपुरस्थित सिद्धरत्न प्राविको प्रधानाध्यापक भई दाङ जिल्लाको शैक्षिक उन्ययनमा महत्वपूर्ण कार्य गर्नुभएको थियो ।

कम्युनिष्ट आन्दोलन र समाज परिवर्तनका लागि निर्भिकता र इमान्दारिताका साथ जीवन अर्पण गर्नुभएका नेत्रलाल २०४१ साल जेठ ६ गतेका दिन पार्टी कामका लागि दाङबाट देउखुरी जाँदै सम्पर्क विहीन हुनुभएको थियो, जसको छ महिनापछि चैलाही गाविस थरिकोट फेदी बौराह खोलानजिक सुकेखोलाको किनारमा उहाँको अवशेष फेला परेको थियो ।