राष्ट्रिय | प्रदेश |

विश्वविद्यालयसम्बन्धी दुई अध्यादेश प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने प्रदेश २ सरकारको निर्णय


धर्बेन्द्र झा
जनकपुरधाम, कात्तिक ९ गते । प्रदेश नं. २ सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखसमक्ष विश्वविद्यालय स्थापनासम्बन्धी दुई वटा अध्यादेश सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्रीको निवास मधेश भवनमा सम्पन्न भएको बैठकले वीरगञ्जमा प्राविधिक विश्वविद्यालय र सप्तरीमा कृषि विश्वविद्यालय स्थापनासम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

कृषि तथा प्राविधिकसम्बन्धी उच्चस्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धी अध्ययन अनुसन्धानलाई समयसापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेशस्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकाले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेशसभा संचालनमा नरहेको अवस्थामा अध्यादेश प्रदेश सरकारले सिफारिस गरेको हो । प्रदेश प्रमुखबाट अध्यादेश जारी भएपछि दुबै विश्वविद्यालय स्थापनाको बाटो खुल्नेछ ।

त्यसैगरी, प्रदेश सरकारले ग्रिन सिटी क्लिन सिटी अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र वीरगंजमा सरसफाई, बिजुली बत्ती तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने निर्णय  गरिएको छ ।

त्यसैगरी मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणको कार्यलाई प्राविधिक सहितको उच्चस्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराई ढिलासुस्ती एवं गुणस्तरहीन काम गर्ने ठेक्केदार कम्पनीलाई बैंक ग्यारेन्टी जफतदेखि कालो सूचीमा राख्नेसम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम अर्थमन्त्री साहले बताउनुभयो । बैठकले एसिड पीडित पर्साका मुस्कान खातुनलाई प्रदेश सरकारले थप उपचारको लागि पाँच लाख रुपियाँ उपलब्ध गराउने निर्णयलाई अनुमोदन उहाँले जानकारी दिनुभयो ।