बैतडीमा जनगणनामा ४९ हजार परिवार सूचीकृत
बैतडी, कात्तिक १३ गते । बैतडीमा राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणअन्तर्गतको गणनामा ४९ हजार ७६१ परिवार सूचीकृत गरिएको छ । विसं २०६८ को जनगणनामा जिल्लामा ४५ हजार १६७ परिवार सङ्ख्या थियो ।
पहिलो चरणमा ५८ हजार ५५२ घर सूचीकृत गरिएको छ । घरको गणना पहिलोपटक गरिएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । विसं २०६८ मा जिल्लाको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ थियो । “मूल गणनापश्चात् मात्रै कति जनसङ्ख्या थपियो भन्ने यकिन हुन्छ,” उहाँले भन्नुभयो । गत भदौ ३० देखि असोज १८ गतेसम्म राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षक खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । सूचीकरणका लागि ८० सुपरीवेक्षक परिचालन गरिएका थिए ।
राष्ट्रिय जनगणना, २०७८ को मूल गणनाका लागि जिल्लामा ३१५ गणक छनोट भएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरिने मूल गणनाका लागि गणक छनोट गरिएका हुन् । दशरथचन्द नगरपालिकामा ६५, पाटनमा ३६, मेलौलीमा २७ र पुर्चौंडी नगरपालिकामा ४० गणक खटाउने योजना छ । यस्तै सुर्नया गाउँपालिकामा २५, दोगडाकेदारमा २८, डिलाशैनीमा २८, सिगासमा २६ तथा शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा २१/२१ गणक खटाइने जिल्ला जनगणना कार्यालयले जनाएको छ ।
“गणकसँगै पहिलो चरणको जनगणनामा काम गरेका ८० सुपरीवेक्षकलाई पनि मूल गणनामा खटाइनेछ,” पन्तले भन्नुभयो । छनोट भएका गणकलाई आजदेखि कात्तिक १६ गतेसम्म तालिम प्रदान गरिनेछ । उनीहरूलाई जनगणनाका बेलामा सोधिने प्रश्नका विषयमा तालिम दिइने बताइएको छ ।
दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाका गणकको तालिम दशरथचन्द नगरपालिकामा तथा डिलासैनी र दोगडाकेदार गाउँपालिकाका गणकको तालिम दोगडाकेदारमा सञ्चालन हुनेछ । यस्तै सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिका र पाटन नगरपालिकाका गणकको तालिम पाटनमा तथा मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका गणकको तालिम मेलौलीमा सञ्चालन हुने कार्यालयले जनाएको छ । राष्ट्रिय जनगणना कार्यक्रमअन्तर्गत यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मूल गणना गरिने बताइएको छ । यस वर्षको जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता : राष्ट्रिय जनगणना, २०७८’ छ ।