एमाले महाधिवेशन उदघाटनसत्रमा पाँच लाख जना सहभागी गराउने तयारी
काठमाडौं, कात्तिक २४ गते । नेकपा (एमाले) ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने १० औँ राष्ट्रिय महाधिवेशनमा जनवर्गीय सङ्गठनका एक लाख नेता तथा कार्यकर्ताको सहभागी गराउने भएको छ ।
एमालेको २२ वटा जनवर्गीय सङ्गठनका तर्फबाट महाधिवेशन उद्घाटन समारोहमा एक लाख सहभागी हुने जनसङ्गठन तथा जनपरिचालन समितिका संयोजक खिमलाल भट्टराईले जानकारी दिनुभयो । उद्घाटन समारोहमा एमालेले पाँच लाख सहभागी गराउने तयारी गरेको उहाँले बताउनुभयो । एमालेले चितवनको नारायणी नदी किरारमा रहेको खाली मैदानमा महाविधेशनको उद्घाटन समारोह गर्ने भएको छ ।
यस्तै एमालेले छिमेकी जिल्लाबाट पनि महाधिवेशनको उद्घाटनको दिन सहभागी गराउने जनाएको छ । एमालेले पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, पर्सा, धादिङ्, गोरखालगायत जिल्लाबाट पनि उद्घाटन समारोहमा सहभागी गराउने तयारी गरेको छ । उहाँकाअनुसार जनवर्गीय सङ्गठनबाट सहभागी हुने नेता तथा कार्यकर्ताले हातमा नेपालको झण्डा, आ–आफ्नो सङ्गठनको ब्यानर र झाँकीसहित सहभागी हुनेछन् ।
यस्तै महाधिवेशनका लागि ३०० स्वम्सेवक परिचालन गरिने तयारी गरिएको छ । उद्घाटन समारोहका दिन भरतपुर बजारको मुख्य चोकमा डिजिटल स्क्रिनसमेत राखिने जनपरिचालन समितिका संयोजक भट्टराईले बताउनुभयो । मैदानमा सबै सहभागी नअट्ने भएपछि बजारको मुख्य मुख्य चोकमा एमालेले डिजिटल स्क्रिन राख्न थालेको हो ।
बुटवल–नारायणगढ सडकखण्ड मर्मत गरिने
एमालेले चितवनमा हुने महाधिवेशनलाई ध्यानमा राखेर बुटवल–नारायणगढ सडक खण्डको मर्मत गर्न सडक विभागलाई अनुरोध गरेको छ । महाधिवेशनमा आउने प्रतिनिधिलाई सहज गराउनका लागि सडकमा रहेको खाल्डाखुल्डी पुर्ने र डाइभर्सनलाई व्यवस्थित गर्नेबारे सडक विभागसँग छलफल भइरहेको एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार वुटवलबाट महाधिवेशनस्थलमा गाडीबाट साढे दुईदेखि तीन घण्टामा पुग्ने गरी सडक मर्मत गरिने छ । पुनःनिर्माण भइरहेको उक्त सडक खण्डमा अहिले ठाउँठाउँमा खाल्डाखुल्डी र ग्राबेल रहेको छ ।
एमालेको महाधिवेशनमा २२५ केन्द्रीय कमिटी, अनुशासन आयोग तथा लेखा आयोगका १५–१५ जना गरी कूल २५५ जना निर्वाचित हुनेछन् । पहिलो पटक विद्युतीय मेसिनबाट मतदान हुने महाधिवेशनमा एक हजार ९९९ जना नबढ्ने गरी प्रतिनिधि सहभागी हुने सो दलले जनाएको छ ।