किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको पूर्णकदको सालिक अनावरण
हरिप्रसाद कोइराला
उर्लाबारी, कात्तिक २५ गते । रक्षामन्त्री डा. मीनेन्द्रप्रसाद रिजालले किरात धर्मगुरु फाल्गुनन्द लिङ्देनको पूर्णकदको सालिक अनावरण गर्नुभएको छ ।
बिहीबार धर्मगुरु फाल्गुनन्दको १३७ औं जन्मजयन्तीको अवसर पारेर किरात हाङसाम माङ्हिम ब्यवस्थापन तथा संरक्षण समिति लेटाङले आयोजना गरेको कार्यक्रममा मन्त्री रिजालले सालिक अनावरण गर्नुभएको हो ।
कार्यक्रमको प्रमुख अतिथि रहनुभएका मन्त्री रिजालले नेपालको संविधानले नै हरेक नागरिकलाई आफूले ईच्छाएको धर्म मान्न पाउने स्वतन्त्रता प्रदान गरेको बताउनुभयो । आफ्नो धर्म निर्बाध रुपमा मान्न पाउने र अरुको धर्ममा थिचोमिचो नगर्ने हाम्रो परम्परालाई अविछिन्न राख्न आग्रह गर्दै मन्त्री रिजालले किरात धर्मगुरू फाल्गुनन्द लिङ्देनको शान्तिवादी चरित्रको सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मन्त्री रिजालले आफू नेपाल सरकारको संस्कृतिमन्त्री भएका बेला १६ राष्ट्रिय विभूतिका रुपमा फाल्गुनन्द लिङ्देनको नाम मन्त्रीपरिषदको क्याविनेट बैठकमा टेबुल गरेको संस्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रिय विभूति घोषणा गर्ने कुरा सामान्य थिएन । तर हामीले धर्मगुरूले शान्ति, शिक्षा र समाज सुधारका क्षेत्रमा गरेका अतुल्य कामको उच्च मूल्याङ्कन गर्दै राष्ट्रिय विभूति घोषणा ग¥यौं । त्यसयता १७ औं विभूति घोषणा गर्नुपर्ने ब्यक्तिका विषयमा कहिलै छलफल नभएको मन्त्री रिजालको भनाइ छ ।
सशस्त्र द्वन्द्वको समयमा समेत इलामको माङ्सेवुङ क्षेत्र शान्त थियो । मन्त्री रिजालले धर्मगुरूको प्रभावकै कारण सो क्षेत्रमा द्वन्द्वको असर नपरेको उल्लेख गर्नुभयो । किँरात हाङसाम माङ्हिम ब्यवस्थापन तथा संरक्षण समिति लेटाङका अध्यक्ष बालकुमार चेम्जोङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, लेटाङ नगरपालिकाका नगर प्रमुख शङ्कर राई लगायतले बोल्नुभएको थियो ।