सरकारको काम प्रभावकारी हुन्छ भन्ने आश छैनः महासचिव पोखरेल
शालिग्राम नेपाल
चितवन, कात्तिक २५ गते । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सरकारले आफ्नो कार्यकालमा राम्रो काम गर्ला भन्ने आफूहरुलाई आश नभएको बताउनुभएको छ । एमाले महाधिवेशनको तयारीका लागि चितवन आउनुभएका महासचिव पोखरेलले सो कुरा बताउनुभयो ।
एमालेको दशौं महाधिवेशनको तयारीका लागि पार्टीका शीर्ष नेताहरु चितवन आउनुभएको छ । पार्टीको महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, योगेश भट्टराईलगायतका नेताहरु तयारीका काममा चितवन आउनुभएको छ ।
पार्टीको महाधिवेशनको उद्घाटन हुने नारायणी नदी किनारस्थल निरिक्षण गर्नु अगाडि महासचिव पोखरेलले वर्तमान सरकारले राम्रो काम गर्न नसक्ने दावी गर्नुभयो । भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले वर्तमान सरकारबाट कुनै अपेक्षा गर्न नसकिने बताउनुभयो । ‘यो सरकार जुन धरातलमा बनेको छ, त्यस हिसावले पनि राम्रो काम गर्न सक्दैन’ उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले पार्टीभित्र १० बुँदे सहमति आधारभूतरुपमा कार्यान्वयन भइसकेको पनि बताउनुभयो । केही ठाउँमा विवाद भए स्थानीयस्तरबाटै टुङ्गो लगाउने उहाँको भनाई छ । उहाँले पार्टीको महाधिवेशनको तयारीका कामहरु धमाधम अघि बढेको जानकारी दिनुभयो ।
निरिक्षणपछि एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एमालेको महाधिवेश चितवनमा हुँदा यहाँको आर्थिक र पर्यटकीय गतिबिधि बढ्ने बताउनुभयो । देशको केन्द्रबिन्दु र महत्वपूर्ण पर्यटकीय गन्तव्य चितवनलाई महाधिवेशनस्थलको रुपमा छनोट गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘धेरै सोच बिचार गरेर चितवनलाई छनोट गरेका हौं । नारायणी किनार आफै रमणीय र पर्यटकीय क्षेत्र हो’ उहाँले भन्नुभयो, “पार्टीका लागि यो ठाउँ साँघुरो भएपनि अर्को विकल्प हामीले रोजेनौं ।” देशभर नै सार्वजनिकस्थलको अभाव रहेको भन्दै उहाँले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नारायणी नदी किनारको प्राविधिक जाँच र आवश्यक संरचनाको डिजाइन भइरहेको भन्दै उहाँले बन्दसत्र हुने सौराहमा पनि केही नयाँ व्यवस्थापनका कामहरु हुने जानकारी दिनुभयो ।
आवासको तयारी
एमालेका शीर्ष नेताहरुले पार्टीको दशौं महाधिवेशन अन्तर्गत बन्दसत्र हुने चितवनको पर्यटकीय नगरी सौराहामा आवास व्यवस्थापनको तयारीमा जुट्नु भएको छ । उद्घाटन हुने नारायणी नदी किनारको अबलोकन पछि नेताहरु पर्यटकीय नगरी सौराहमा आवाससहित अन्य व्यवस्थापनको काममा जुट्नु भएको हो ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको आवास व्यवस्थापनको विषयमा छलफल तथा बन्दसत्र हुने बाघमारा चौरको अबलोकन गरेको एमाले रत्ननगर नगर कमिटीका अध्यक्ष इश्वरीप्रसाद अर्यालले जनाकारी दिनुभयो ।
एमालेको दशौैँ महाधिबेशन १०–१२ मंसिरमा हुँदैछ । बन्दसत्र सौराहको बाघमारामा हुने तय भएको सो पार्टीले जनाएको छ । महाधिवेशनमा एमालेले पाँच लाख नेता तथा कार्यकर्ता सहभागी गराउने दावी गरेको छ ।