एमालेको महाधिवेशन तयारी तीव्र, कपडाको ब्यानर र भित्तेलेखन नहुने
काठमाडौं, कात्तिक २६ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना गर्न गइरहेको दशौं महाधिवेशनको प्रचारप्रसार कार्यलाई तीव्र बनाउने जनाएको छ । दशौं महाधिवेशनका सन्दर्भमा शुक्रबार एक पत्रकार सम्मेलनमार्फत एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले विगतमा भन्दा केही नयाँ ढङ्गबाट महाधिवेशन प्रचारप्रसारलाई अगाडि बढाइएको बताउनुहुँदै प्रचारका लागि कपडाको ब्यानर र भित्तेलेखन पनि नहुने बताउनुभयो ।
यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधिका लागि पार्टी सदस्यहरुमा आव्हान गर्नुहुने पनि भट्टराईले बताउनुभयो । चितवन एक पर्यटकीय क्षेत्र भएकोले पनि चितवनमा केन्द्रित रही महाधिवेशनको प्रचारप्रसार अगाडि बढाइने उहाँ बताउनुहुन्छ । दशौं महाधिवेशनमा वेबसाइट, फेसबुक पेज लगायत डिजिटल माध्यमलाई पनि बढी सक्रिय गराइने उहाँले बताउनुभयो । यससँगै देशैभरका सात सय ५३ वटा स्थानीय पालिकाहरुमा दशौं महाधिवेशन केन्द्रित छलफल गर्ने, काठमाडौं, चितवन लगायत प्रदेशका राजधानी केन्द्रित रही बुद्धिजीवी परिषद्ले छलफल चलाउने र मङ्सिर ७ गते समपूर्ण जिल्ला र प्रमुख शहरहरुमा मोटरसाइकल -याली गर्ने एमालेले जनाएको छ । राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियुको मुख्य नेतृत्वमा मोटरसाइकल ¥याली गरिने भट्टराईले जानकारी दिनुभएको हो । यससँगै थप आवश्यक प्रचारप्रसारको कामलाई अगाडि बढाइँदै लैजाने एमालेले जनाएको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले दशौं महाधिवेशनमा आठ लाख पार्टी सदस्यहरुको अभिलेख केन्द्रीय कार्यालयमा प्राप्त हुने बताउनुभयो । प्रतिनिधिहरुले महाधिवेशनमा आ–आफ्नो तर्फबाट आवश्यक भूमिका निभाउनुहुने विश्वस पनि उहाँले व्यक्त गर्नुभएको छ । एमाले महाधिवेशनमा तीन किसिमको प्रतिनिधित्व रहनेछ । केन्द्रीय निकायबाट पदेन, निर्वाचित प्रतिनिधित्व र मनोनयन गरी तीन किसिमको प्रतिनिधित्व रहने पोखरेल बताउनुहुन्छ । पार्टीमा दक्षिणपन्थी र अवसरवादलाई पराजय गर्दै जनताको बहुदलीय जनवादको मूल सिद्धान्तमा आधारित रही अन्य विचारहरुमाथि छलफल गर्दै समाजवाद उन्मुख बाटोमा एमालेलाई अगाडि बढाइने उहाँको भनाइ छ ।