राष्ट्रिय |

लोकतन्त्रको आत्मा भनेकै संसद होः सभामुख सापकोटा

गोरखापत्र अनलाइन
धुलीखेल, कात्तिक २६ गते । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले लोकतन्त्रको आत्मा भनेको संसद भएकाले जिम्मेवार भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभएको छ ।

संघीय संसद सचिवालयको आयोजनामा यहाँ भएको ‘संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख सापकोटाले सो कुरा बताउनुभयो । पत्रकारिता क्षेत्रबाट आफूलाई ठूलो सहयोग भएको भन्दै उहाँले नेपाली प्रेसको प्रशंसा गर्नुभयो ।

प्रतिनिधिसभा विघटन भएको गत पुस ५ देखि जेठ २८ को समय आफ्नोलागि विश्वविद्यालयझैं भएको उहाँले बताउनुभयो । त्यस अवधिमा आफूले धेरे कुरा सिक्ने अवसर पाएको सभामुख सापकोटाले बताउनुभयो । नेपालमा अझै संसदीय प्रणाली बस्न नसकेको त्यसको वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । “मेरो योग्यता, क्षमताको परख गर्ने वातावरण बनाउन सकिरहेको छैन, अन्य विषयमा बढी समय गैरहेको छ” सभामुख सापकोटाले भन्नुभयो ।

शक्तिशाली जनमत बनाउने काम सञ्चारमाध्यमको भएकाले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न उहाँले प्रेसलाई आग्रह गर्नुभयो । पत्रकारिता आफैमा लोकतन्त्र भएको चर्चा गर्नुहुँदै सभामुख सापकोटाले संसदको सूचनाहरु सही ढंगले प्रवाहित गर्न उहाँले सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । राम्रो कामको राम्रो र गलतलाई गलत भनेर सूचना प्रवाह गर्न उहाँले आग्रह गर्नुभयो । संसदको मुख्य काम कानुन निर्माण गर्नेपनि भएकाले यसको गाम्भीयर्ता रहेको बताउनुभयो ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालले जनतासँग सम्बन्धित आवाजहरु बुलन्द गर्न सञ्चारमाध्यममको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । राज्यबाट पछाडि पारिएका वर्ग, समुदायको आवाज जनप्रतिनिधिहरुद्वारा उठाउँदा मिडियाले जनतामाझ पुर्याउनेकाम गर्दैआएको चर्चा गर्नुहुँदै संसदभित्र भएको कमी कमजोरीलाई खोजगरी प्रकाश पार्ने काम सञ्चारमाध्यममले गर्नुपर्ने बताउनुभयो ।

संघीय सचिवालयका महासचिव डा. भरतराज गौतमले कोभिडले पत्रकारलाई संसदको समाचार संकलन तथा प्रकाशनमा केही असहज भएपनि विस्तारै सहज बन्दैगएको बताउनुभयो । संसदमा भएको गतिविधिलाई जनतासमक्ष पुगाउने काम सञ्चारमाध्यममको भएकाले सन्तुलित र निश्पक्षरुपले सञ्चारमाध्यममले भूमिका निर्वाह गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

संघीय सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले संसदीय समाचारहरु प्रायः एउटै फ्रेममा आउने गरेकाले त्यसलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । संसदीय समाचारहरु कभरेजको हिसावले अझै कमजोर भएको पनि उहाँले चर्चा गर्नुभयो । संसदीय गतिविधिको नकारात्मक विषय मिडियाले बढी उठाउने गरेको पनि उहाँले टिप्पणी गर्नुभयो । कमी कमजोरी उजागर गरेर सच्चिनमा मिडियाले भूमिका खेल्ने भएपनि सकारात्मक विषयलाई पनि प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जनताको माग सम्बोधन गराउन संसदमा सञ्चारमाध्यममले निगरानीकोरुपमा भूमिका खेल्ने हुनाले मिडिया सक्रिय हुनुपर्ने बताउनुभयो । अन्तरक्रिया तथा छलफलको कार्यक्रम प्रेद्शतहमा पनि गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले सञ्चार माध्यमले संसदीय कामको निगरानी सँगसँगै संसदीय गतिविधिलाई सक्रिय बनाउने काम पनि गर्नेगरेको बताउनुभयो । संसदीय रिपोर्टिङमा आउने पत्रकारलाई प्रशिक्षणको अभाव भएकाले भरपर्दो समाचार आउन नसकेको बताउनुभयो । पत्रकारलाई जति प्रशिक्षित गराउन सक्यो त्यति नै ओजपूर्ण समाचार आउने उहाँले बताउनुभयो ।

संसदीय मामिलाका पत्रकार मनोज सत्यालले कतिपय अवस्थामा जनप्रतिनिधि आफै ठेकेदार भई समितिमा आफ्नै ठेक्काका विषयमा छलफल हुँदा प्रभावकारी काम हुन नसकिरहेको बताउनुभयो । केही विषय त्यस्तो पनि देखिएकाले त्यसमा सुधारको खाँचो रहेको उहाँले बताउनुभयो । मिडियाले त्यस्ता विषयलाई निगरानी गर्नु आवश्यक रहेको उहाँले सुझाउनुभयो । कुनै कुनै विषयमा संसदीय समितिमा पत्रकारलाई पहुँच नदिएर अपारदर्शी काम गरिरहेको उहाँले चर्चा गर्नुभयो । संसदीय समितिले सूचना लुकाउने काम गर्नेगरेको उहाँले टिप्पणी गर्नुभयो ।

आज र भोलि दुई दिन चल्ने अन्तरक्रिया कार्यक्रममा संसदीय रिपोर्टिङ गर्ने पत्रकार, संघीय संसद सचिवालयका पदाधिकारी तथा सदस्यहरु तथा कर्मचारीहरुको सहभागिता रहेको छ । कार्यक्रममा सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डे र प्राध्यापक पी. खरेलको कार्यपत्र प्रस्तुति रहेको छ ।