राष्ट्रिय | प्रदेश |

गठबन्धन कहिलेसम्म रहन्छ भन्नेबारे कुनै निर्णय भएको छैन् : मन्त्री रिजाल

हरि कोइराला
उर्लाबारी, कात्तिक २६ गते । सङ्घीय सरकारका रक्षा मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्रप्रसाद रिजालले नेपाली कांग्रेसले वर्तमान सरकारको गठबन्धन कहिलेसम्म रहने भन्ने विषयमा कुनै निर्णय नगरेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन मोरङले शुक्रबार बेलबारीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रिजालले सो कुरा बताउनु भएको हो । गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न आयोजित कार्यक्रममा मन्त्री रिजालले गठबन्धन एमाले अध्यक्ष केपी ओलीलाई एक्ल्याउनका लागि मात्र नहुने उल्लेख गर्नुभयो ।
काँग्रेसले कसैलाई एक्ल्याउने र कसैसँग गबबन्धन गर्ने कुरा राजनीतिक मुद्दाका आधारमा गर्छ,उहाँले भन्नुभयो । केही दिन अघि गठबन्धन सरकारको साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकारको गठबन्धन चुनाबसम्म कायम रहने कुराको खण्डन गर्दै मन्त्री रिजालले कुनै दल विशेषलाई एक्ल्याउने पक्षमा कांग्रेस नरहेको प्रष्ट पार्नुभयो ।
मन्त्री रिजालले भन्नुभयो –नेकपाको सरकार सर्बसत्तावाद र अधिनायकवादतर्फ उन्मुख भएकोले संविधानको रक्षाका लागि मात्र कांग्रेसले पाँच दलीय गठबन्धन बनाएको हो ।
अघिल्लो सरकार रहि रहेको भए वर्तमान संविधान जिवित नरहन सक्थ्यो । कांग्रेस संविधानको संरक्षण गर्न प्रतिवद्ध छ, उहाँले भन्नुभयो । नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाको योगदानको चर्चा गर्दै मन्त्री रिजालले विश्वभर नै उच्च राजनीतिक प्रतिष्ठा स्थापना गरेर गिरिजाप्रसाद कोइराला अस्ताउनुभयो ।
उहाँले नेपाली नागरिकका लागि गर्नु भएको योगदान नेपाली राजनीतमा सधैं अजर र अमर रहने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, पूर्व राज्य मन्त्री दिलिपकुमार गच्छदार,मोरङ कांग्रेसका उपसभापति भक्तिनाथ माझी सचिवद्वय नागेस कोइराला र मोदराज घिमिरे ,सुन्दरहरैचाका नगरप्रमुख शिव प्रसाद ढकाल, नेपाल पत्रकार महासंघ प्देश नं. १ का अध्यक्ष लीलाबल्लभ घिमिरे , प्रेस युनियन मोरङका उपाध्यक्ष हरिप्रसाद कोइराला लगायतले बोल्नुभएको थियो । कार्यक्रममा मन्त्री रिजालले पत्रकारहरू शेखर रेग्मी, कुमोद अधिकारी र दिनेशप्रसाद गिरीलाई गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गर्नुभयो । पुरस्कारको राशी जनही १५ हजार रुपियाँ रहेको छ । यस्तै नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित पत्रकारहरूलाई प्रेस युनियन मोरङ शाखाले कदर पत्र प्रदान गरेको छ ।