राष्ट्रिय |

संसदीय गतिविधि प्रभावकारी बनाउन मिडियाले सहयोग गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

गोरखापत्र अनलाइन
धुलिखेल, कात्तिक २७ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय गतिविधिलाई प्रभावकारी बनाउन मिडियाको भूमिका भएकाले सकारात्मक पक्षलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ ।

संघीय संसद सचिवालयको आयोजनामा ‘संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा शनिबार यहाँ अध्यक्ष तिमिल्सिनाले सो कुरा बताउनुभयो । पत्रकारले फेक समाचार मुख्य हेडलाइनमा सम्प्रेषण गर्ने तर भुलसुधार गर्दा पावर चश्माले पनि पढ्न नसकिने गरी गर्ने गरेको टिप्पणी गर्नुभयो । काम गर्नेक्रममा केही त्रुटी र कमजोरी हुने गरेपनि त्यसैलाई मुख्य विषय बनाएर समाचार बनाउन नहुने उहाँले सुझाउनुभयो ।

पत्रकारबाट सूचना लुकाउन नहुने भन्नुहुँदै उहाँले सार्वज्निक गर्न मिल्ने सूचना निर्धक्कसाथ दिनुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । हातैहात सूचना दिन नसकेमा सचिवालयको वेव पेजमा राख्न सकिने उहाँले बताउनुभयो । पत्रकारलाई दिन मिल्नेसम्मको संसदको सूचना उपलब्ध गराउन सचिवालयका पदाधिकारीहरुलाई अध्यक्ष तिमिल्सिनाले निर्देश गर्नुभयो । संसदीय केही सूचनाहरु माग्दा पनि सहजरुपले पत्रकारले प्राप्त गर्न नसकेको गुनासो सुनिएको भन्नुहुँदै उहाँले त्यसमा ध्यान दिन पदाधिकारीहरुलाई आग्रह गर्नुभयो ।

राष्ट्रियसभा बैठकमा आफूले अध्यक्षको हैसियतमा पक्षपातपूर्ण काम नगरेको दावी गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले सक्षपक्ष र प्रतिपक्षको सांसद भनेर विभेद गर्न नमिल्ने बताउनुभयो । संसदीय मूल्य मान्यता तोडेर बैठक सञ्चालन गर्न नसकिने बताउनुहुँदै त्यसो गरेमा गलत परम्परा बस्ने उहाँले चर्चा गर्नुभयो । प्रतिपक्षी दलका सांसदहरु विरोध गरेर उभिएकाबेला विधेयकलगायतका विषयवस्तु बैठकमा टेवल गर्न नहुने उहाँले बताउनुभयो ।

प्राध्यापक पी. खरेलले संसदीय रिपोर्टिङ विशेष रिपोर्टिङको काम भएकाले पत्रकार सचेत हुनुपर्ने बताउनुभयो । संसदीय समाचार संकलन गर्नु भनेको अन्य पर्वको समाचार संकलन गरेकोजस्तो सहज नहुने उहाँको भनाई छ । नागरिकका लागि उत्पादित सार्वजनिक सूचना लुकाउन नमिल्ने र संसदीय समितिका सूचनाहरु पत्रकारलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

नेपालको संविधानले नै पत्रकारलाई सूचनाबाट बन्चित गराउन नहुने व्यवस्था गरेकाले पत्रकारले मागेको सूचना सचिवालयका पदाधिकारी तथा संसदले लुकाउन नमिल्ने उहाँले चर्चा गर्नुभयो । पत्रकारले पनि मानवीय आवश्यकताको सूचना सम्प्रेषणमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । पत्रकारितालाई हतारको साहित्य भनिए पनि गल्ती गर्ने छुट पत्रकारलाई नभएको उहाँले बताउनुभयो । “मलाई भोक लाग्यो, चोरी गर्न पाउँ भनेजस्तै हो पत्रकारले गल्ती गर्न पाउँ भनेको” उहाँले भन्नुभयो ।

संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले पत्रकारलाई सूचना दिन सहज होस् भन्ने उद्दश्यले सचिवालये काम गरिरहेको बताउनुभयो । संसदीय गतिविधिको अर्काइभिङ र अडियो भ्वाइस राख्नेकाम अझै व्यवस्थापन हुन नसके पनि काम भइरहेको उहाँले जानकारी दिनुभयो । पत्रकारको पहुँच समितिको सबै बैठकमा कसरी पहुँच बनाउने विषयमा पनि सम्बन्धित पक्षसँग छलफल गरिने उहाँले बताउनुभयो ।

संसदीय गतिविधिबारे जानकारी गराउने उद्देश्यले नवआगन्तुक पत्रकारलाई प्रशिक्षण तथा तालिमका लागि पनि पहल गर्ने प्रवक्ता पाण्डेले बताउनुभयो । संसदीय सूचनाहरु जनतासँग प्रत्यक्ष सम्बन्धित र प्रभाव पार्नेखालको सूचनाहरु हुने भएकाले पत्रकारले जिम्मेवारीपूर्वक सत्य तथ्य सूचना सम्प्रेषणमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । कहिलेकाहीं गलत सूचना र त्रुटीपूर्ण सूचना जनतामाझ जाँदा नागरिकलाई दिग्भ्रमित पार्नेगरेको उहाँले बताउनुभयो ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले आफूलाई तोकिएको जिम्मेवारी इमान्दारितापूर्वक सबैले गर्दा समस्या नआउने बताउनुभयो । राष्ट्रिय सभा बैठक तोकिएको समयमा अहिलेसम्म सञ्चालन भएको र आगामी दिनमा पनि सो प्रयास गरिने बताउनुभयो । त्यसले पत्रकारलाई पनि फाइदा पुग्नेगरेको उहाँले बताउनुभयो । कार्यक्रममा पत्रकारको तर्फबाट आएको सुझावलाई स्रोत साधनले भ्याएसम्म सचिवालयले सम्बोधन गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।