तीनै तहको निर्वाचन एकै पटक गर्दा राम्रो - यादव
जयकृष्ण यादव
इनरुवा, कार्तिक २७ गते । देशको तीनै तहको निर्वाचन एकै पटक गर्दा राम्रो हुने नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृका प्रसाद यादवले बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा संचारकर्मीसँगको कुराकानी यादवले देशको आवश्यकता र आर्थिक मितव्ययिताको अवस्थालाई हेर्दा तीनै तहको निर्वाचन एकै पटक गर्दा राम्रो हुने तर्क गर्नुभएको छ । उहाँले एकैपटक नभएपनि राज्य र जनतालाई सजिलो हुने गरी कसरी चुनाव गर्ने भन्ने विषयमा गठबन्धनको बीचमा छलफल भइरहेको बताउनुभयो । तीनै तहको निर्वाचन एकै पटक गर्ने कि भन्ने विचार पनि आएको बताउनुहुँदै “सबैभन्दा राम्रो राज्यलाई कम भार पर्ने, जनतालाई कम दुःख हुने भनेको तीनै तहको निर्वाचन एकै चोटि गर्ने हो,” यादवले भन्नुभयो ।
यस्तो गर्दा मतदाता सहित राजनीतिक दललाई पनि सजिलो हुने उहाँको भनाइ थियो । “धेरै चलखेल, षड्यन्त्र पनि गर्न नपाउने, राज्यको आर्थिक बोझ पनि कम हुने, राजनीतिक दललाई पनि सजिलो हुन्छ कि भन्ने एउटा विचार छ,” उहाँले भन्नुभयो ।
यादवले सरकार संघीय गणतन्त्रलाई सुदृढ बनाउने गरी काम गरिरहेको बताउनुभयो । यसअघिको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न आवश्यक ऐन, कानून बनाउनुतर्फ ध्यान नदिएको उहााको भनाई थियो ।
पूर्व मन्त्री समेत रहनुभएका यादवले देशको विकास, संविधानको रक्षा र जनताको भावनाको सम्बोधन गर्नका लागि वर्तमान गठबन्धन बनेकाले अमागी निर्वाचनसम्म समन्वय र सहकार्य सहित टिकने दावी गर्नुभयो । वहाँले देशको आवश्यकतालाई ध्यानमा राखेर पाँच दलिय गठबन्धन बनेको र यो अगामी निर्वाचनसम्म मजवुत भएर टिकिरहने जिकिर गर्नुभयो । नेता यादवले प्रतिगमनकारीलाई परास्त गर्न अग्रगमनकारीबीच सहकार्य आवश्यक रहेको र त्यसैलाई सार्थक पार्नका लागि ओली विरुद्ध आफूहरु समेत लागेर गठबन्धन बनाएको बताउनुभयो ।
गठबन्धन बीचमा तालमेल नभएको गुनासो र आरोप छ नी भन्ने सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता यादवले कुनै पनि सत्ता र गठबन्धन वा पार्टीमा नेतृत्व गर्नेहरुको बीचमा विबाद र अन्तरद्धन्द हुनु स्वभाविक भएको तर त्यसलाई मिलाएर लानु नै राजनीतिक भएकाले तालमेल नमिलेको भन्न नहुने बताउनुभयो । वहाँले अहिले निर्वाचनको बारेमा भन्दा देशको संविधान रक्षा, विभिन्न आन्दोलनको उपल्बधीको रक्षा र जनताको आवश्यकता पुरा गर्ने विषयमा गठबन्धन बीचमा निरन्तर छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ बाम गठबन्ध र पार्टी एकिकरण भन्दा गठबन्धन नै ठीक रहेको छ, काग्रेंस, नेकपा (एस), जनता समाजवादी पार्टी र माओवादी केन्द्र मिलेर सरकार बनेकाले एकता भन्दा गठबन्धन नै सही छ । ’ उहाँले फरक प्रसंगमा अहिलेको संविधान संशोधनको कामलाई अगाडि बढाउनुपर्ने समेत बताउनुभयो । यादवले माओवादी केन्द्र प्रति देशभर नै जनलहर बढेकाले त्यसलाई व्यवस्थित गर्ने, जनभावनाको कदर गर्ने र माओवादीको नीतिमा देश चलेकाले नेतृत्व पनि आफूहरुले गर्नुपर्ने दबाव स्वरुप पार्टीमा प्रवेशको क्रम बढेको बताउनुभयो ।