पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल
बाबुराम देवकोटा
सिन्धुलीमाढी, कात्तिक २९ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र पुस्तान्तरण भन्दा पनि रुपान्तरण आजको आवश्यकता भएको बताउनुभएको छ । उहाँले सिन्धुलीको कमलामाई नगरपालिका–१३ रानीबासमा नेपाली काँग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उक्त कुरा बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसको १४ औं महाधिवेशनले पार्टीलाई उक्त बाटोमा हिडाउने पनि बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘काँग्रेसलाई रुपान्तरण गर्न, नयाँ बाटो, नयाँ उर्जा, नयाँ धार र सञ्चार गराएर सशक्त रुपमा राष्ट्रमा सफल बनाउनुछ । नेपाली काँग्रेसका १४ औं महाधिवेशनबाट हामी यो बाटोमा हिँड्छौं । नेपाली काँग्रेस सफल हुन्छ यसपाली ।’
भ्रमको राजनीतिबाट देशलाई मुक्त बनाउने पनि आफ्नो अभियान रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अरु कसैले राष्ट्रलाई जोगाउँदैनन् । अरु कसैले लोकतन्त्र जोगाउँदैनन् । अरु सबैको चालामाला देखिसक्याैँ अवसरवादी हुन्, मौका अनुसार बोल्छन् र गर्छन् । जनतालाई सँधै धोका दिन्छन् । जनतालाई जहिल्यै पनि भ्रममा पार्छन् ।’ वरिष्ठ नेता पौडेलले नेपालको राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्ने आधार काँग्रेस नै भएको दाबी गर्नुभयो । नेपाली काँग्रेसलाई विकृतिमुक्त बनाउन आफू लडिरहेको पनि उहाँले बताउनुभयो ।