सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्रै सुनुवाइ
काठमाडौं, कात्तिक २९ गते । सर्वोच्च अदालतका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्रै सुनुवाइ गर्नुभएको छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दुई एकल र आठ संयुक्त इजलास तोक्नुभएको थियो ।
अन्य मुद्दामा सुनुवाइ बन्द गर्नुभएका न्यायाधीशहरूले सोमबार बन्दी प्रत्यक्षीकरणको मुद्दाको मात्रै सुनुवाइ गर्नुभएको हो । न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयालको संयुक्त इजलास र मनोजकुमार शर्माको एलक इजलाजको बेन्च नबसेको सर्वोच्चले जनाएको छ ।
यसैगरी प्रधानन्यायाधीश जबराको एकल इजलासमा परेका पाँच वटा मुद्दाको सुनुवाइ भएको छ । जबराले पाँच वटा मुद्दामध्ये एउटा मुद्दा हेर्न नमिल्ने, तीन वटा मुद्दामा कैफियत प्रतिवेदन माग्ने र अर्को एउटा मुद्दामा मिसिल साथै राख्ने आदेश दिनुभएको छ ।
त्यस्तै न्यायाधीशद्वय हरिकृष्ण कार्की र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा मात्रै सुनुवाइ गरेको छ । न्यायाधीशद्वय कार्की र मोक्तानले एउटा मुद्दामा रिट खारेज, परमादेश जारीको आदेश दिनुभएको छ भने अन्य मुद्दा हेर्न नभ्याइने सूचीमा राख्नुभएको छ ।
यसैगरी न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको संयुक्त इजलासले पनि बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा मात्रै सुनुवाइ गरेको छ । न्यायाधीशद्वय ढुङ्गाना र रेग्मीले एउटा मुद्दामा रिट जारीको आदेश दिनुभएको छ भने अन्य मुद्दा हेर्न नभ्याइने सूचीमा राख्नुभएको छ ।