विप्लव नेतृत्वका ११ कार्यकर्ता पक्राउ
अमरराज नहर्की
तनहुँ, कात्तिक ३० गते । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्द सफल बनाउन खटिएका ६ जनालाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । पृथ्वी राजमार्ग लगायतका शाखा मार्गहरु बन्द गर्न खोज्न, पसल खोल्न नदिने गरेकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक उमेशराज मैनालीले जानकारी दिनुभयो ।
मङ्गलबार बिहान करिब साढे ५ बजे सो पार्टीका जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओमविक्रम पन्त, मजदुर सङ्गठनका जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारीका जिल्ला सचिव शिव सदाशंकर, मगर मुक्ति मोर्चाका जिल्ला सदस्य रणविर रानालगायत ११ जनालगायत नेता कार्यकर्तालाई पक्राउ गरेको सो पार्टीका जिल्ला इन्चार्ज पुर्णजित पुनले जानकारी दिनुभयो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध शान्तिपूर्ण बन्दको तयारी हुँदै गर्दा नेता कार्यकर्ता पक्राउ गरिएको पुनले बताउनुभयो । पक्राउ परेका सबै नेता कार्यकर्तालाई तुरुन्त रिहा गर्न माग सो पार्टीले राखेको छ । तनहुँमा बिहानै देखी बन्दको प्रभाव परेको छ । सदरमुकाम दमौलीका अतिरिक्त डुम्रे, आँबुखैरेनी, खैरेनीटार, दुलेगौंडा, भिमाद लगायतका प्रमुख बजार क्षेत्र खुलेको छैन । लामो तथा छोटो दूरीका सवारी साधन पनि सञ्चालनमा आएका छैनन् ।