राष्ट्रिय | प्रदेश |

एमालेको आगामी नेतृत्व सर्वसम्वत गर्ने प्रयासः नेता भट्टराई

शालिग्राम नेपाल
चितवन, मंसिर १ गते । नेकपा (एमाले) का प्रचार विभाग प्रमुख योगेश भट्टराईले दशौं महाधिवेशनमा नेतृत्व सर्वसम्वत गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

चितवनको भरतपुरमा दशौं राष्ट्रिय महाधिवेशन प्रचार प्रसार सहयोग समिति चितवनले वुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले महाधिवेशन प्रतिनिधि ९५ प्रतिशत सहमतीमा छनौट भएकाले नेतृत्व पनि सोहीअनुसार हुनसक्ने बताउनुभयो ।

‘नेतृत्व सर्वसम्वत चयन गर्ने हाम्रो प्रयत्न हुनेछ’ उहाँले भन्नुभयो ‘प्रतिस्पर्धा गर्न नपाइने भन्ने होइन तर सहमतिको वातावरण बन्दै गएकोछ ।’ कुन पदमा को भन्ने विषय अहिले टुङ्गो नलागे पनि महाधिवेशनको हलले नेतृत्व सर्वसम्मत गर्नसक्ने जानकारी दिनुभयो ।

प्रचार विभाग प्रमुख भट्टराईले चितवनमा हुने महाधिवेशनले एकताको सन्देश दिने पनि बताउनुभयो । महाधिवेशन सकिएलगतै पार्टीले नयाँ उचाई लिने दावी उहाँले गर्नुभयो । आउँदो स्थानीय, प्रदेश र संघमा एमाले पहिलो पार्टी बन्नेमा शंका नरहेको बताउनुभयो ।

देशको मुल पार्टी एमाले बन्ने छ उहाँले भन्न्नुभयो, “छरिएर रहेका कम्यूनिष्ट पार्टीलाई एकै ठाँउमा ल्याएर एमालेले नेतृत्व गर्नेछ, अब कम्युनिष्ट पार्टी भनेकै एमाले हुनेछ ।” व्यवस्थापनको काम तिब्र रुपले अगाडि बढेकाले उद्घाटनसत्र र वन्दसत्रका लागि मञ्च निर्माणको कार्य सुरु भएको जानकारी दिनुभयो ।

सौराहामा प्रतिनिधिहरुका लागि होटलमा ३५ सय वेड एमालेले वुक गरिसकेकाले आउने प्रतिनिधिलाई आवासको कुनै असुविधा नहुने उहाँले बताउनुभयो । हामीले पाँच लाख जनता चितवनको कार्यक्रममा उतार्नेछौ प्रम्ख भट्टराइले भन्नुभयो “एमालेमा जनलहर कस्तो छ भन्ने सन्देश महाधिवेशनले दिनेछ ।”

महाधिवेशनभर सञ्चारमाध्यमले सूचना छरितो बनाउन प्रत्यक्ष प्रशारणको व्यवस्था गरिने पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा भित्ते लेखन, पर्चा पम्प्लेटको व्यवस्था नहुने र सवै डिजिटल माध्यमबाट प्रचार गरिने बताउनुभयो । महाधिवशेन खर्च कर्यकर्ताको लेवी शुल्क, सदस्यबाट उठाएको रकमले नै व्यवस्थापन गर्ने उहाँले जानकारी दिनुभयो । महाधिवेशनका लागि कोही कसैसँग चन्दा नलिने उहाँले बताउनुभयो । महाधिवेशनमा पाँच करोड बढी रुपियाँ खर्च हुनसक्ने अनुमान सो दलले गरेको छ ।