राष्ट्रिय |

 मुख्यमन्त्री शाहीले मङ्सिर १४ गते विश्वासको मत लिनुहुँदै

मुना हमाल

वीरेन्द्रनगर, मङ्सिर ३ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनुहुने भएको छ । यसका लागि मङ्सिर १४ गते प्रदेशसभाको बैठक आव्हान गरिएको हो । प्रदेश प्रमुख तिलक परियारले मङ्सिर १४ गते मङ्गलबार दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आव्हान गर्नुभएको छ ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव तेजप्रकाश जोशीले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश प्रमुख परियारले प्रदेशसभाको बैठक आव्हान गर्नु भएको जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीले मुख्यमन्त्रीमा नियुक्त भएको २८ दिनपछि विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिइ सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । कात्तिक १६ गते शाही मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

तीनदलीय गठबन्धनमा बनेको सरकारमा मुख्यमन्त्री शाहीलाई नेकपा माओवादी र नेकपा (एकीकृत समाजवादी) को समर्थन छ । ३५ जना प्रदेशभसा सदस्य रहेको कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका छ र समाजवादीका तीन जना प्रदेश सभा सदस्य छन् । प्रमुख प्रतिपक्ष दल एमालेका १३ र राप्रपाका एक जना प्रदेशसभा सदस्य छन् ।