काँग्रेसको बाँकी रहेका ६१ वटा जिल्लामा प्रदेश अधिवेशन सुरु
काठमाडौं, मंसिर ३ गते । सत्तारुढ दल नेपाली काँग्रेसको चौंधौ केन्द्रीय महाधिवेशनको प्रक्रिया जारी रहँदै आएको छ । काँग्रेसको बाँकी रहका ६१ वटा जिल्लामा शुक्रबारदेखि प्रदेश अधिवेशन सुरु भएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार १४ वटा जिल्लाहरुको अधिवेशन सम्पन्न भइसकेको छ ।
काँग्रेसको पूर्वनिर्धारित कार्यतालिका अनुरुप अधिवेशन हुन बाँकी रहेको ४६ वटा जिल्लाहरु पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, झापा, मोरङ, सुनसरी, सिन्धुली, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, बाग्लुङ, नवलपुर, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान, दाङ, बर्दिया, रुकुम (पश्चिम), सल्यान, जाजरकोट, दैलेख, डोटी, अछाम, बैतडी, डडेलधुरा, कञ्चनपुरलगायत विगतमा बाँकी रहेको १३ जिल्ला र सिन्धुपाल्चोक र सर्लाही गरी ६१ वटा जिल्लामा आजदेखि प्रदेश अधिवेशनको प्रक्रिया अहिले जारी रहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो ।
यसमा सर्लाहीमा भने वडा अधिवेशन समेत हुन सकेको छैन । हालसम्म काँग्रेसको १४ वटा जिल्लाहरुको अधिवेशन सम्पन्न भइसकेको छ ।
यस्तै, कात्तिक २७ गतेदेखि बाँकी रहेका १३ वटा जिल्लाहरुको वडा अधिवेशन सुरु भएकोमा सर्लाहीमा वडा अधिवेशन हुन अझै बाँकी रहेको उहाँले बताउनुभयो । यस पश्चात् मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन सुरु हुने कार्यतालिका रहेको छ ।
काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको मिति मंसिर २४ देखि २६ गतेभित्र सम्पन्न गर्ने मिति तय भएको छ ।