राष्ट्रिय |

एमाले महाधिवेशन उद्घाटनका लागि तयारी तीव्र

दीपक श्रेष्ठ, काठमाडौँ/ वसन्त पराजुली, नारायणगढ

नारायणगढ, मङ्सिर ४ गते । पर्यटकीय सहर चितवनमा मङ्सिर १० गतेदेखि १२ गतेसम्म हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको छ ।
महाधिवेशन उद्घाटनमा पाँच लाख कार्यकर्ता उतार्ने योजनासहित मञ्च व्यवस्थापन, सजावट, आवास, बन्दसत्र स्थलको बन्दोबस्ती कार्यमा पाँच सयभन्दा बढी कार्यकर्ता खटिरहेका छन् । महाधिवेशनको उद्घाटन नारायणी नदी किनारमा गरिने छ, जसका लागि मञ्च निर्माणको काम धमाधम भइरहेको छ । बन्द सत्र सौराहास्थित हात्तीसारमा गरिने जनाइएको छ । त्यस्तै देशभरबाट आएका करिब दुई हजार प्रतिनिधिलाई सौराहास्थित होटलहरूमा बसोबासको व्यवस्था गरिने जनाइएको छ ।
नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता गराउने गरी तयारी थालिएको जानकारी दिनुभयो । सो सभामा चितवनबाट एक लाख जनता उतार्ने तयारी एमालेको छ ।
अध्यक्ष रावलले भन्नुभयो, “जनसहभागिता, उद्घाटनस्थल र बन्दसत्रलाई व्यवस्थित र सुरक्षित कसरी बनाउन सकिन्छ भन्ने विषयमा हाम्रा तयारी केन्द्रित छन् ।”
महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारका खाल्डाखुल्डी सम्याउने र मञ्च निर्माणको काम भइरहेको छ  । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार एक सय अतिथि अट्ने गरी आकर्षक मञ्च निर्माण गरिने छ । उहाँका अनुसार आठ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो मञ्च निर्माण गरिँदै छ । मञ्चलाई चार खण्डमा विभाजन गरिने छ । 

माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्डमा केन्द्रीय सदस्य र चौथो खण्डमा ‘पोडियम’ रहने छ । नारायणी नदीको पुल र गैँडाकोट तर्फको नदी किनारबाट समेत सभास्थललाई हेर्न मिल्ने गरी मञ्चको ढाँचा तयार पारिने स्वयंसेवक संयोजक श्रेष्ठले जानकारी दिनुभयो । मञ्चको व्यवस्थापनसँगै ‘सेल्फी’ प्वाइन्टसमेत बनाइने छ ।
महाधिवेशन उद्घाटन सभाका लागि चितवनका सात स्थानबाट जुलुस निकालिने जनाइएको छ । अध्यक्ष रावलले भन्नुभयो, “विभिन्न जिल्लाबाट सभामा आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको हो । ”
भरतपुरको केन्द्रीय बसपार्क, आँटपारी, हाकिमचोक, चौबीसकोठी, बेलचोक, विशालचोक र गैँडाकोटबाट जुलुससहित महाधिवेशन उद्घाटन स्थलमा पुग्ने तयारी एमालेको छ । जुलुसलाई केन्द्रीय नेताहरूले नै नेतृत्व गर्नुहुने छ । जहाँबाट जुलुस सुरु हुन्छ त्यहीँ आसपासमा सवारी साधनहरूको पार्किङको व्यवस्था मिलाइएको छ ।

डिजिटल बोर्ड
महाधिवेशनको प्रचार प्रसारमा एमालेले भित्ते लेखन, ब्यानर र पोस्टर नटाँस्ने भएको छ । यसपटक सूचना प्रविधिलाई बढी प्रयोग गर्ने योजना एमालेको छ । महाधिवेशन प्रचार प्रसार समितिका संयोजक योगेश भट्टराईका अनुसार देशैभरि सयभन्दा बढी ठाउँमा डिजिटल डिस्प्ले बनाएर महाधिवेशनको प्रचार गरिने छ । मैथिली, भोजपुरी, अवधि, थारु, तामाङ, चेपाङ, नेपाली र अङ्ग्रेजी भाषामा डिजिटल प्रचार सामग्री बनाइएको छ । सामाजिक सञ्जालहरू फेसबुक, टिकटक र युट्युबको समेत प्रयोग गरिएको छ । महाधिवेशन प्रचारका लागि ३० वटा भिडियो, वृत्तचित्र तथा अडियो क्लिप बनाइएको संयोजक भट्टराईले जानकारी दिनुभयो ।
यस्तै महाधिवेशनको प्रचारकै लागि एमालेले देशैभरि मङ्सिर ७ गते मोटरसाइकल ¥याली गर्दै छ । त्यस्तै मुख्य सहर, राजमार्गमा स्वागत द्वार बनाउन थालिएको छ ।
घरघरमै निम्तो
महाधिवेशनस्थल चितवनमा उद्घाटन सत्रमा सहभागिताका लागि एमालेले घरघरमै निम्तो पठाएको छ । महाधिवेशन प्रचार प्रसार सहयोग समितिका सचिव तिलकराम रिमालका अनुसार चितवनका एक लाख पचास हजार घरमा निम्तो पठाउने कार्य सुरु भइसकेको छ । उहाँले भन्नुभयो, “हामी घरघरमै निम्तो कार्ड लिएर चितवनवासीलाई बोलाउँदै छौँ । ”

होटल बुक
एमालेले महाधिवेशनका सहभागीहरूलाई राख्न चितवनको सौराहासहित विभिन्न स्थानका होटलहरू बुकिङ थालेको छ । सहभागीमध्ये सौराहामा तीन हजार पाँच सय जनालाई राख्न क्षेत्रीय होटल सङ्घ सौराहासँग सम्झौता भइसकेको सङ्घका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो । महाधिवेशन आवास व्यवस्थापन समितिका सदस्य राजेन्द्र पियाका अनुसार सौराहा बाहिर भरतपुर र नारायणगढ क्षेत्रमा पनि महाधिवेशन सहभागीहरूका लागि थप २५० वटा कोठा ‘बुक’ गरिएको छ । महाधिवेशनमा देशैभरिबाट करिब दुई हजार प्रतिनिधि सहभागी हँुदैछन्

प्रत्यक्ष प्रसारण
मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनको प्रचारलाई व्यवस्थित बनाउने कार्य थालिएको छ । महाधिवेशन अवधिभर पार्टी मुखपत्र नवयुगलाई
ई–बुलेटिनको रूपमा दैनिक प्रकाशन थालिएको छ । पार्टीका गतिविधि, पार्टीको नीति, विचार तथा कार्यदिशाका बारेमा वैचारिक पक्षलाई समेत यस बुलेटिनमा समावेश गरिने जनाइएको छ ।
केन्द्रीय प्रचार विभाग प्रमुख भट्टराईका अनुसार एमालेको महाधिवेशनको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको छ । पार्टीको प्रचार समितिका तर्फबाट मङ्सिर १० गतेको उद्घाटन र बन्दसत्रको एकीकृत रूपले प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको छ । सो प्रसारणबाट नै देशभरका सञ्चार माध्यमहरूले सेवा लिन सक्ने प्रचार संयोजक भट्टराईले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रमलाई विभिन्न २० ठाउँमा डिस्प्लेमार्फत प्रदर्शन गर्ने योजनासमेत रहेको जनाइएको छ ।