राष्ट्रिय |

सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा कांग्रेस सभापति देउवा समूहको ‘क्लीनस्वीप’

सचिन पोखरेल
सुनसरी । मङ्सिर ८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको समूहले क्लीनस्वीप गरेको छ ।

सुनसरी क्षेत्र नम्बर ४ मा बुधबार सम्पन्न कांग्रेस केन्द्रीय महाधिवेशन अन्तर्गतको प्रतिनिधिसभा क्षेत्र अधिवेशनमा सभापति देउवा समूहले क्लीनस्वीप गरेको हो । उक्त क्षेत्रका २६ जना महाधिवेशन प्रतिनिधिमध्ये सबै देउवा समूहका छन् ।

दुई समूह बनाएर भएको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की निकट प्यानलका सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि विजयी भएका हुन् ।

प्रधानमन्त्री देउवा तथा सञ्चारमन्त्री कार्की निकट क्षेत्रीय सभापतिका उमेदवार र कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी नेतृत्वको प्यानलमा रहेका सबै महाधिवेशन प्रतिनिधिहरु निर्वाचित हुनुभएको हो । प्रत्यक्ष महिलातर्फ मिराकुमारी पोखरेल, सुशीलादेवी खनाल पौडेल, मुना अधिकारी र राधिका कटुवाल विजयी हुनुभएको छ ।

यसैगरी प्रत्यक्ष पुरुषतर्फ ओम कोइराला, नन्दकुमार सिग्देल, भिम कटवाल, शत्रुघनप्रसाद यादव, प्रमोदकुमार खेरवार, रेवतीरमण दुलाल, हरिलाल मेहता, परमानन्द मेहता, सिकमलाल यादव र भीमसिंह गुरुङ निर्वाचित हुनुभएको हो ।

त्यसैगरी खस आर्यतर्फ बाबुराम विष्ट, आदिवासी जनजाति महिलातर्फ अनु गुरुङ्ग र आदिवासी जनजाति पुरुषतर्फ सदानन्द मण्डल निर्वाचित हुनुभएको छ ।

मधेसी महिलातर्फ अनितादेवी यादव निर्वाचित हुनुभएको छ भने मधेसी पुरुषतर्फ मनोजकुमार साह र सुरेन्द्र गुप्ता साहु निर्वाचित हुनुभएको हो । त्यसैगरी दलिततर्फ सरजुग सरदार, मुस्लिम महिलातर्फ फरिदा खातुन मोना र मुस्लिम पुरुषतर्फ गफार अन्सारी र अबुल हुसैन निर्वाचित हुनु भएको निर्वाचन अधिकृत हरेकृष्ण राउतले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा सुरुमा सहमतिमा प्रतिनिधि छनोट गर्ने विषयमा छलफल भए पनि सहमति नजुटेपछि निर्वाचन भएको थियो । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि अहिले प्रतिनिधि चुनिनेक्रम जारी छ ।