नेतृत्व चयनको विषय संवादबाटै टुङ्गो लाग्छः नेता भट्टराई
गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १२ गते । नेकपा (एमाले) का प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनमा देखिएको नेतृत्व चयनको विषय संवादबाटै टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ । सहमतिको हिसावले नै नेतृत्व छनौट गर्ने म्यान्डेट प्रतिनिधिहरुले नेतृत्वलाई दिनुभएकाले नेतृत्वले सही र सबैलाई चित्तबुझ्दो काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
एमाले महाधिवेशनको बन्दसत्र हुने हल अगाडि पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै पार्टी सचिव समेत रहनुभएका नेता भट्टराईले भन्नुभयो, “जवजको सिद्धान्त नै संवादबाटै निकास निकाल्ने रहेकाले नेतृत्व पङ्ति त्यसमै लागेको छ ।” बन्दसत्रबाट नयाँ नेतृत्व चयनको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएकाले उहाँले सुझबुझपूर्ण निर्णय गर्नुहुने उहाँले बताउनुभयो ।
वार्ता, छलफल र संवादबाट कसैलाई बन्चित गरिनु हुन्न, संवादबाटै समस्याको समाधान निस्कन्छ प्रचार विभाग प्रमुख भट्टराईले भन्नुभयो, “फरक मत राख्नुहुने पक्षसँग पनि अध्यक्षसहितका नेतृत्व पङ्तिले छलफल गरिरहेको छ, आशा गरौं चाँडै निस्कर्ष निस्कन्छ ।” जनप्रतिनिधिले मतदान गरेर नेतृत्व चयन गरेको भए त्यसको जिम्मेवारी प्रतिनिधिमा रहन्थ्यो, बन्दसत्रले नेतृत्व चयनको जिम्मेवारी अध्यक्ष ओलीलाई दिएकाले त्यसको जिम्मेवारी उहाँमा रहेको भट्टराईले बताउनुभयो ।