लोकतन्त्र चुनौतीरहित छैन : सभामुख
गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १३ गते । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान अवस्थामा लोकतन्त्र चुनौतीरहित नरहेको बताउनुभएको छ । स्पेनमा जारी अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू)को ‘लोकतन्त्रको समकालीन चुनौती ः विभाजनमाथि विजय र समुदाय निर्माण’ विषयक सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक संस्थाप्रति अहिले जनविश्वाससमेत कमजोर भइरहेको बताउनुभयो ।
सीमान्तकृत वर्गलाई राष्ट्रिय जीवनको मूलधारमा ल्याउन जरुरी रहेको पनि उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । यस्तै त्यस्ता समुदायलाई निर्णय प्रक्रियामा समावेश गर्नु महìवपूर्ण हुने पनि उहाँले धारणा राख्नुभयो । सम्बोधनमा सापकोटाले भन्नुभयो, “इतिहासदेखि नै मानिसहरूले निर्णय प्रक्रियामा सहभागिताका लागि प्रयास गरेका छन् । यसले बताउँछ कि लोकतन्त्र किन शासनको अन्तिम स्वरूपका रूपमा विकसित भएको छ किनभने यसले व्यावहारिक रूपमा सम्भव भएसम्म राष्ट्रिय नीति निर्माणमा मानिसलाई धेरै भूमिका दिन्छ । शासनको सबैभन्दा मनपर्ने स्वरूपका रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौतीरहित छैन ।”
नेपालमा संविधान सभाले सहभागितामूलक र समावेशी लोकतन्त्रका आधारभूत कुरालाई समेट्ने अधिकारमा आधारित नयाँ संविधान जारी गरेको पनि उहाँले स्मरण गराउनुभयो । नेपाल समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तमा आधारित समाज स्थापना गर्न पूर्ण प्रतिबद्ध रहेको उहाँले सम्बोधनमा उल्लेख गर्नुभयो । संविधान जारी भएपछि तीनै तहको निर्वाचनमा संविधानको उक्त दर्शनलाई आत्मसात् गरिएको पनि सापकोटाको भनाइ छ । सम्बोधनमा उहाँले भन्नुभएको छ, “तीनै तहको शासन व्यवस्थामा समावेशी लोकतन्त्रको दर्शनलाई आत्मसात् गरिएको छ । अहिले सङ्घीय संसद्मा एक तिहाइ तथा प्रदेश र स्थानीय तहमा झन्डै ४१ प्रतिशत महिला छन् । यी सकारात्मक कार्यले सीमान्तकृत समुदायलाई साथमा लिएर प्रतिनिधित्व गर्ने शासन संरचना सिर्जना गरेको छ ।”
सभामुख सापकोटाले आईपीयू असाधारण मञ्च भएको बताउँदै समकालीन मुद्दामा छलफल गर्न पनि आग्रह गर्नुभयो । विश्वभरका विधायक र नीति निर्मातालाई एकसाथ छलफलमा ल्याउन सक्ने मञ्च आईपीयू भएको पनि उहाँको भनाइ छ ।