एमाले पदाधिकारीमा पाँच जना सर्वसम्मत, औपचारिक घोषणा हुन बाँकी
गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १३ गते । नेकपा (एमाले) को जारी १० औं महाधिवेशनबाट पाँच जना पदाधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज शुरु भएको निर्वाचन प्रक्रियामा मनोनयन दर्तामा उहाँहरुको एक्लाएक्लै उम्मेदवारी परेपछि उहाँहरु सर्वसम्मत हुनुभएको हो ।
सर्वसम्मत हुनुहुनेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, तीनजना उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल रहनुभएको छ । निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार सो पदमा उहाँहरुको मात्र उम्मेदवारी परेपछि सर्वसम्मत हुनुभएको हो । तर औपचारिक घोषणा हुन भने बाँकी छ ।
निर्वाचन प्रक्रिया शुरु भएपछि अध्यक्षमा केपी शर्मा ओली र भीमबहादुर रावलको उम्मेदवारी परेको छ । त्यस्तै, उपाध्यक्षमा घनश्याम भुषालले समेत मनोनयन दर्ता गराउनु भएपछि उपाध्यक्षमा मतदान हुने भएको छ । त्यस्तै, सचिवमा भीमप्रसाद आचार्यले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । सचिवमा पनि मतदान हुने भएको अध्यक्ष सुब्बाले बताउनुभयो । निर्वाचन प्रक्रिया जारी भएकाले अन्तिम परिणाम घोषणा आज साँँझसम्म समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।