राष्ट्रिय |

प्रदेश २ बाट गोरखापत्र प्रकाशन गर्ने प्रदेश सरकारको प्रतिवद्धता

नगेन्द्रकुमार कर्ण/ललिता साह
बर्दिबास, मङसिर १६ गते । प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले गोरखापत्र दैनिकको प्रादेशिक संस्करण प्रकाशनको लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । प्रदेश २ को गोरखापत्र संस्थानका समाचारदाता, वितरक तथा बहुभाषिक पृष्ठका संयोजक तथा सहसंयोजकहरुका लागि बिहीबार यहाँ आयोजित अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अर्थमन्त्री साहले सो कुरा बताउनु भएकाे हाे ।

गोरखापत्र जनताको मुखपत्र भएको चर्चा गर्दै अब यही प्रदेशबाट गोरखापत्रको प्रकाशन थाल्न आवश्यक सबै पूर्वाधार प्रदेश सरकारले नै तयार गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । सरकारले आगामी वर्षको बजेटमा नै जग्गा प्राप्ति, भवन निर्माण तथा प्रेस मेशिनलगायतको प्रबन्ध गर्न आवश्यक बजेट विनियोजन गरिने उहाँले प्रष्ट पार्नुभयो । यसबारेमा आवश्यक अध्ययन तथा गृहकार्य गरेर छिटै प्रदेश सरकार र संस्थानबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गर्न आग्रह पनि गर्नुभयो ।

प्रदेशको समस्यालाई गोरखापत्रले उच्च स्थान दिइरहेकोमा प्रशंसा गर्नुहुदै गोरखापत्रको प्रादेशिक संस्करण प्रकाशनको लागि सहयोग गर्ने अवसर पाएमा आफू तयार रहेको मन्त्री साहले बताउनुभयो । गोरखापत्र देशकै गौरव रहेकाले सो गौरवमा सबैलाई एक ढिक्का भएर सहयोग गर्नसमेत आग्रह गर्नुभयो ।

अर्थमन्त्री साहले गोरखापत्रको प्रादेशिक प्रकाशन प्रारम्भ गर्न चाँडै प्रदेश सरकार र गोरखापत्र संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर गरिने जानकारी दिनुहुदै गोरखापत्रको प्रादेशिक संस्करण प्रकाशनका लागि आवश्यक पर्ने नयाँ मेसिन लगायतका प्राविधिक सहयोग उपलब्ध गराउन प्रदेश सरकारको आगामी बजेटमा यसको प्रबन्ध मिलाइने बताउनुभयो ।

प्रदेश सरकारले कृषि, पर्यटन र उद्योगलाई प्राथमिकता दिएर अगाडि बढिरहे पनि सरकारको मुख्य प्राथमिकता कृषिमा देखिएको बताउनुहुँदै कृषिको समस्यालाई बढीभन्दा बढी उठान गर्न पत्रकारसँग आग्रह गर्नुभयो । प्रदेश २ का ८० प्रतिशत जनता कृषिमा आश्रित रहेकाले पत्रकारलाई किसान र सरकारको बीचमा पुलको काम गरिदिन उहाँले आग्रह गर्नुभयो ।

सञ्चारमाध्यम जहिले पनि प्रतिपक्षको भूमिकामा रहने चर्चा गर्नुहुदै उहाँले प्रदेश सरकारको राम्रो कामलाई राम्रो र नराम्रो कामलाई सच्याउने गरी समाचार संप्रेषण गर्न आग्रह गर्नुभयो । पत्रकारकै हकहितको लागि मिडिया काउन्सिल र आमसंचार प्राधिकरण प्रदेश सरकारले बनाएको जानकारी दिनुभयो ।

गोरखापत्रको प्रादेशिक संस्करणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएकोमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले खुशी व्यक्त गर्नुभयो । प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढन गोरखापत्र तयार रहेको उहाँले बताउनुभयो ।

गोरखापत्रलाई डिजिटल युग सुहाउँदो स्मार्ट पत्रिका बनाउन नयाँ मार्गचित्रअनुसार काम भइरहेको बताउनुभयो । उहाँले राष्ट्रको गौरव, इतिहास, परिवर्तनको सम्वाहक, पत्रकारिताको विश्वविद्यालयको रुपमा रहेको गोरखापत्रलाई समयसापेक्ष डिजिटल एडिशनमार्फत अगाडि बढाउने गृहकार्य भइरहेको जानकारी दिनुभयो । गोरखापत्र मुलुकको मुखपत्र रहेको पनि उहाँले चर्चा गर्नुभयो ।

गोरखापत्रका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईले आधिकारीकता र विश्वसनीयता गोरखापत्रको सम्पत्ति भएको बताउनुभयो । सरकारको कुरा जनतासमक्ष र जनताको कुरा सरकारसक्ष पुर्‍याउने गोरखापत्र पुलको काम गरिरहेको बताउनुभयो ।

संस्थानका कार्यकारी अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रममा प्रदेश २ का आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, पत्रकार अनिलकुमार कर्ण लगायतले मन्तव्य राख्नुभएको थियो ।