राष्ट्रिय | प्रदेश |

सत्ता साझेदार दलको गठवन्धन तीनै तहको निर्वाचनसम्म - पूर्व प्रधानमन्त्री भट्टराई


अमरराज नहर्की
तनहुँ, मङ्सिर २५ गते । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष डा. बावुराम भट्टराईले सत्ता साझेदार दलको गठवन्धन आगामी तिनै तहको निर्वाचनसम्म हुन जरुरी रहेको बताउनुभएको छ ।
सङ्गठन सुदृढीकरण तथा जन परिचालन अभियानसहित तनहुँको शुक्लागण्डकी नगरपालिकाको घारीमा आउनुभएका भट्टराईले प्रतिगमनलाई परास्त गर्न अग्रगामी शक्ति मानिएका पाँच दलले गठवन्धन गरेरै चुनावमा सहभागी भएर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताउनुभयो । गठवन्धनबाटै तत्कालिन केपी ओली नेतृत्वको सरकार गिरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले त्यस एकतालाई कायम गरेर प्रतिगमनको मुन्टो उठाउन दिन नहुने बताउनुभयो ।
उहाँले गठवन्धन भित्रकै केही पार्टीका नेताहरुले चुनाव एक्लाएक्लै लड्न बताए पनि आफूहरुको प्रयत्न पाँच दलीय गठवन्धनलाई टिकाइराख्ने रहेको बताउनुभयो । उहाँले गत भाद्र १ गतेदेखि मङ्सिर मसान्तसम्म अभियान अन्तर्गत जनतामाथि भेटघाट कार्यक्रमलाई तीव्र पार्नुभएको छ ।