राष्ट्रिय |

महाधिवेशनले उत्साह भरेको एमालेको निष्कर्ष


गोरखापत्र समाचारदाता

भक्तपुर, मङ्सिर २६ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो पूर्ण बैठक शनिबारदेखि सुरु भएको छ । बैठकले जिल्ला अधिवेशन पुस २३ गते एकैसाथ र प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय गरेको छ ।
उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार बैठकले मङ्सिर १० देखि १४ गतेसम्म चितवनको सौराहामा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनको सङ्क्षिप्त समीक्षासमेत गरेको छ ।

बैठकले अमृतकुमार बोहराको अध्यक्षतामा सल्लाहकार परिषद् गठन गरेको छ । यस्तै विधान सम्पादन तथा नियमावली संशोधनका लागि उपाध्यक्ष विष्णु पौडेल, केन्द्रीय सदस्य खगराज अधिकारी र केशव बडाल रहेको तीन सदस्यीय कार्यदल गठनसमेत बैठकले गरेको छ ।

बैठकले केन्द्रीय कमिटी बैठक सञ्चालन कार्यविधि पारित गर्नुका साथै आगामी पाँच वर्षका लागि पार्टी कार्यालय ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालन गर्ने निर्णय गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । बल्खुस्थित एमाले पार्टी कार्यालय २०७२ सालको भूकम्पले भत्किएपछि धुम्वाराहीमा सारिएको थियो । केही समयअघि माइतीघरमा सारिएको कार्यालय साँघुरो भएपछि च्यासलमा सार्न लागिएको जनाइएको छ ।

यसैगरी पुस–माघ–फागुन तीन महिना पार्टी विस्तार, पार्टी प्रवेश अभियान र जनसङ्गठनको राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ । बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा, नयाँ शक्ति र नयाँ उत्साह दिएको बताउनुभयो ।
अध्यक्ष ओलीले बैठकमा राख्नुभएको धारणाबारे जानकारी दिनुहुँदै उपमहासचिव ज्ञवालीले भन्नुभयो, “महाधिवेशनले दिएको त्यो उत्साहलाई समाजको अग्रगामी रूपान्तरणमा प्रयोग गर्न सिङ्गो पार्टी परिचालित हुन नेताहरूलाई आह्वान गर्नुभयो । ”