गठबन्धन असफल हुँदैन :नेपाल
बुटवल समाचारदाता
बुटवल, मङ्सिर २६ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँचदलीय गठबन्धन कसैले चाहँदैमा असफल नहुने बताउनुभएको छ ।
उहाँले गठबन्धन आगामी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनसम्मै कायम हुने बताउँदै कसैले गठबन्धन तोड्ने प्रयास गरे त्यो सम्भव नहुने बताउनुभयो । समाजवादी प्रेस सङ्गठन नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष
नेपालले भन्नुभयो, “अहिले गठबन्धन भत्काउने प्रयास भइरहेको छ । तर, त्यो कुनै पनि अवस्थामा सफल हुन सक्दैन । ” उहाँले नेपाली जनताले रगत बगाएर प्राप्त गरेको उपलब्धि रक्षा गर्न पनि गठबन्धनको औचित्यलाई निर्वाचनसम्मै कायम राख्नुपर्ने बताउनुभयो । उहाँले नेकपा एमालेलाई केपी ओलीको प्राइभेट कम्पनीको संज्ञा दिँदै ओलीको प्राइभेट कम्पनीबाट मुक्त भएर समाजवादीमा सामेल हुन आग्रह गर्नुभयो ।
अध्यक्ष नेपालले नेकपा एमाले विभाजनको अन्तिम समयमा एमालेमै रहेका नेताहरूतर्फ इङ्गित गर्दै भन्नुभयो, “आउनोस् साथीहरू नेकपा एकीकृत समाजवादीमा स्वागत गर्न तयार छौँ । बिहान हराएको परिवारको सदस्य साँझ फर्कियो भने हराएको मानिदैन, तसर्थ तपाईंहरूलाई स्वागत छ । ” नेकपा समाजवादी देश र जनताको लोकप्रिय पार्टी भएर उदाउने दाबी गर्दै अध्यक्ष नेपालले देशैभरि सङ्गठन निर्माण अभियानलाई तीव्रता दिएको बताउनुभयो ।