नेकाँ केन्द्रिय कार्यसमितिको निर्वाचन तयारी पूरा
सपना थामाी, दृश्यमा केशब गुरूङ्ग/दृश्य सम्पादन मनाेजरत्न शाही
काठमाडौं, मसिर २६ गते । नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत भोलि सोमबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार एक सभापतिसहित १३ पदाधिकारी र एक सय २१ केन्द्रीय सदस्यहरु गरी जम्मा एक सय ३४ पदमा निर्वाचन हुनेछ । जसअनुसार आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।
निर्वाचन समितिका सचिव केशव रिजालले देश तथा विदेशका जनसम्पर्क समितिका गरी जम्मा चार हजार सात सय ४३ जना महाधिवेशन प्रतिनिधिहरुले मतदान गर्नुहुनेछ । काठमाडौंको भृकुटीमण्डपमा दुई वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदानस्थल निर्माण भएको छ । ‘२९ प्रकारको मतपत्रको डिजाइन गरी सबै तयार पार्न प्रेसमा पठाइसकेका छौं ।’, रिजालले बताउनुभयो ।
पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सम्पन्न भए पश्चात् सभापति पदको मतगणना हुनेछ । पहिलो चरणमा सभापतिमा ५० प्रतिशत प्लस एक भोट प्राप्त भए सभापतिको मतपरिणाम पहिले नै घोषणा हुनेछ । यदि सभापतिमा यसखाले भोट प्राप्त हुन नसके अन्य बाँकी मतपेटिका शिलबन्दी भई पार्टी केन्द्रीय कार्यालयमा लगिने रिजालले बताउनुभयो । ‘त्यसपछि सभापतिका लागि दोस्रो चरणको कार्यतालिका प्रकाशन हुनेछ । अन्यको भने पार्टी केन्द्रीय कार्यालयमा मतगणना हुनेछ ।’, उहाँ बताउनुहुन्छ ।
काँग्रेस महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदानको कुरा उठेपनि समय अभावका कारण यस विषयमा पर्याप्त छलफल हुन नसकेको र यो पटक मतपत्रमार्फत नै महाधिवेशन प्रतिनिधिहरुले मतदान गर्नुहुने उहाँले बताउनुभयो । अपाङ्गगता भएको व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि ठाउँ–ठाउँमा विश्राम गरेर रोक्ने ठाउँको व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो ।
महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु लगायत पछाडि परेका वर्गसमुदायको प्रतिनिधित्वका लागि अरु राजनीतिक दलहरुको भन्दा काँग्रेसले एकदमै राम्रो नीति लिएको रिजाल दाबी गर्नुहुन्छ । ‘यस पटक १६ वटा जिल्लाहरुमा अधिवेशन हुन नसकेपनि त्यहाँबाट प्रत्येक निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिहरु आइसक्नुभएको छ । यस हिसाबले समावेशी र प्रतिनिधित्वको हिसाबले राम्रो छ । प्रदेश २ को अधिवेशन पछि हुनेछ ।’, रिजालले बताउनुभएको छ ।
तस्बिर सागर बस्नेत