राष्ट्रिय | फोटो फिचर |

नेकाँ महाअधिवेशनमा निर्वाचनकाे माहोल (फोटो फिचर)

काठमाडौँ मङ्सिर २७ गते । मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि मतदान सुरू हुन केही ढिलाइ भए पनि उम्मेदवारहरू मत माग्न तल्लीन हुनुहुन्छ ।

आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहेपनि प्राविधिक कारण मतदान सुरु हुन नसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतपत्र छपाइमा केही बिलम्ब भएका कारण मतदान सुरु हुन नसकेको बताइएको छ ।

समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेस विधानअनुसार १६७ कार्यसमिति मध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ । मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ ।

प्रधानमन्त्री, पार्टीका शीर्ष नेता ,गृहमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिले मतदान गर्ने भएकाले पनि सुरक्षा प्रभावकारी बनाइएको हो । भृकुटीमण्डप परिसरमा पार्टी, सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवारले सांस्कृतिक, बाजागाजासहित प्रचार प्रसार गरेर मतमागिरहनुभएको छ ।