सहमहामन्त्रीतर्फ पाँच वटै क्लस्टरको मतपरिणाम साँझ ५ बजेसम्म आउने
काठमाडौं, पुस २ गते । नेपाली काँग्रेस सहमहामन्त्रीतर्फ पाँच वटै क्लस्टरको मतपरिणाम शुक्रबार साँझ ५ बजेसम्म आउने भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले सहमहामन्त्रीतर्फ पाँच वटै क्लस्टरको मत परिणाम ५ बजेसम्म आउने बताउनुभयो । काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको मतगणना जारी छ ।
शुक्रबार बिहानबाट मुस्लिम, मधेशी, खस, थारु र पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदको मतगणना काँग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा जारी छ ।
यसअघि बिहीबार सहमहामन्त्री महिला खुलातर्फ डिना (महालक्ष्मी) उपाध्याय, दलिततर्फ सहमहामन्त्री पदमा जीवन परिया र आदिवासी जनजातीतर्फ सहमहामन्त्री पदमा भीष्मराज आङदेम्बे निर्वाचित हुनुभएको थियो ।