राष्ट्रिय | राजनीति |

मुलुकको निकासका लागि बलियो शक्तिको खाँचो छ : महासचिव पोखरेल

गोरखापत्र अनलाइन
काठमाडौं, पुस २ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको आर्थिक समृद्धि र निकासका लागि बलियो शक्तिको आवश्यकता भएको र आगामी निर्वाचनबाट एमाले त्यो शक्ति बन्ने बताउनुभएको छ ।

एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा शुक्रबार यहाँ सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो, “देशको राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि बलियो शक्तिको खाँचो छ, आगामी निर्वाचनबाट जनताले एमालेलाई त्यो शक्तिकोरुपमा निर्वाचित गर्नुपर्छ ।”

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पूर्व राजा ज्ञानेन्द्रसँग भएको सहमतिको विषयमा यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले राख्नुभएको धारणा सही भएको पनि उहाँले बताउनुभयो । “सहमति भएको विषय माओवादी केन्द्रको दस्तावेजले नै पुष्टि गरेको छ, त्यसलाई पत्रकारले बाहिर ल्याइदिनुपर्छ” उहाँले भन्नुभयो । अध्यक्ष ओलीले त्यतिकै आरोप लगाउने काम नगर्नुभएको पनि उहाँले प्रष्ट पार्नुभयो ।

मुलुकलाई नियन्त्रित अस्थिरता कायम गर्न खोज्ने शक्तिहरु सक्रिय रहेकाले त्यसलाई परास्त गर्न नेपाली जनता तयार रहनुपर्ने पनि उहाँले बताउनुभयो । तर सो शक्तिका बारेमा उहाँले खुलाउनु भएन । मुलुकको समृद्धि एमालेको नेतृत्वमा मात्र सम्भव भएकाले आगामी निर्वाचनबाट एमालेलाई बलियो शक्तिकोरुपमा जनताले स्थापित गर्नुपर्ने उहाँको भनाई छ ।

नेपाली राजनीतिक प्रमुख चुनौति अहिले राजनीतिक अवसरवाद भएको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो, “जनताको बहुदलीय जनवाद (जवज) को मार्गदर्शनमा समाजवादमा पुग्ने मुख्य लक्ष्य एमालेको हो ।” यसअघि ओली नेतृत्वको सरकारले मुलुकको समृद्धिको जग निर्माण गरिसकेकाले आगामी निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारले मुलुकको समृद्धि कायम गर्ने उहाँले दावी गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल एमालेविरुद्ध मोर्चाबन्दी भएपनि जनताको शक्तिले एमाले पुनः बलियो शक्तिकोरुपमा उदय हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । एक अर्को प्रसंगमा महासचिव पोखरेलले एमालेमा पुस्तान्तरण्को अभ्यास आठौं महाधिवेशनबाटै शुरु भइसकेको बताउनुभयो । नेपाली काँग्रेसमा अहिले भर्खर पुस्तान्तरणको अभ्यास हुनु भनेको एमालेबाटै सिको गरेको उहाँले दावी गर्नुभयो । अहिले पनि ४५ प्रतिशत नेतृत्व एमालेमा युवा रहेको उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो कर्तव्य पालना इमान्दारितापूर्वक नगर्नुभएकै कारण एमालेले संसद बैठक अवरुद्ध गरिरहेको बताउनुभयो । संसदको अवरोध खोल्न सरकारले पहल लिनुपर्ने पनि उहाँले सुझाव दिनुभयो । पुस, माघ र फागुन तीन महिना एमालेले पार्टीको सांगठनिक कामको अभियान चलाउने पनि उहाँले बताउनुभयो ।

सो अवसरमा एमाले नेताहरु विष्णु रिमाल, डा. राजन भट्टराई, भानुभक्त ढकाल, सुजिता शाक्य, विशाल भट्टराई, राजेन्द्र गौतम, भीष्म अधिकारी, विष्णु रिजाल र प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत लगायतको सहभागिता थियो । सो अवसरमा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले केन्द्रीय कमिटीले गरेको निर्णयको सारसंक्षेपबारे जानकारी गराउनुभयो ।