समृद्ध राष्ट्र र धनी पुस्ता बनाउन लागौँ : मन्त्री कार्की
गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक प्रणालीमा एउटा दिशा निर्धारण भइसकेकाले अब नेपाललाई समृद्ध राष्ट्र र धनी पुस्ता बनाउने दिशामा सबैमा लाग्नुपर्ने बताउनुभएको छ ।
फेडरिक इबर्ट स्टिफटुङ (फेस) द्वारा राजधानीमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले नेपालको समृद्धिका लागि जलस्रोत, पर्यटन र कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो ।
उहाँले समृद्ध राष्ट्र र धनी पुस्ता बनाउन हामी सबै लाग्ने हो भने आगामी १० वर्षमा नेपालले नयाँ फड्को मार्ने विश्वास पनि व्यक्त गर्नुभयो । मन्त्री कार्कीले आर्थिक रूपमा समृद्ध दुई ठूला देशबीच नेपाल रहेकाले देशको समृद्धिका लागि आफ्नै प्राकृतिक स्रोत र साधनको सदुपयोग गर्नुपर्छ भन्नुभयो ।
उहाँले भारत र चीनकोआर्थिक उत्थानबाट नेपालले पाठ सिक्दै प्रत्यक्ष, अप्रत्यक्ष लाभ लिन सक्नुपर्नेमा जोड दिनुभयो । ‘‘अहिले मुलुकमा आमूल परिवर्तन भएको छ । खुला समाजतर्फ हामी उन्मुख छौँ,” उहाँले भन्नुभयो, ‘‘हामीलाई अब अनुशासनको आवश्यकता छ । हामीले अवलम्बन गरेको राजनीतिक पद्धतिलाई सुदृढ बनाउन लागिरहेका छौँ । ” मन्त्री कार्कीले नेपालको संविधान जीवन्त दस्तावेज भएकाले यसबाटै आन्तरिक एकतालाई बलियो बनाउनुपर्छ भन्नुभयो ।
कार्यक्रममा उहाँले फेसद्वारा प्रकाशित ‘गैँडा डान्स विथ टाइगर एन्ड ड्रागन’ शीर्षकको पुस्तक पनि लोकार्पण गर्नुभयो । कार्यक्रममा फेस संस्थाका नेपालका लागि आवासीय प्रतिनिधि जोनाथन मेन्गेले नेपालको भूराजनीतिक गतिशीलता र विकासको सम्भावनामा उक्त पुस्तकले बहसको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कृतिमा १३ जना नेपाली तथा विदेशी लेखकले आर्थिक विकास, भूराजनीति, सामाजिक र राजनीतिक लगायतका विषयमा लेखेका लेखलाई सङ्ग्रहित छन् । पुस्तकको फेस संस्थाका नेपालका लागि आवासीय प्रतिनिधि जोनाथन मेन्गेले र फेसका वरिष्ठ कार्यक्रम अधिकृत चन्द्रदेव भट्टले सम्पादन गर्नुभएको हो ।
कार्यक्रममा अधिकृत भट्टले पुस्तकको नाममा नेपाललाई गैँडा, भारतलाई बाघ र चीनलाई ड्रागन साङ्केतिक नाम दिएर ‘गैँडा डान्स विथ टाइगर एन्ड ड्रागन’ नामक पुस्तक तयार गरिएको जानकारी दिनुभयो ।