तीनै तह मिलेर विकास
गोरखापत्र समाचारदाता
ललितपुर, पुस ३ गते । ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसालले सङ्घ, प्रदेश र स्थानीय तीनवटै तह मिलेर विकासको काम गर्नुपर्नेबताउनुभएको छ । स्थानीय सरकारले नागरिकको नजिक रहेर सेवा प्रवाह गरिरहेको भन्दै उहाँले स्थानीय तहको विकासका लागि तीनवटै तहको भूमिका महत्त्वपूर्ण हुने स्पष्ट गर्नुभयो । ललितपुर महानगरपालिकाको १०३औँ स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले स्थानीय तहमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासहितको सरकारका तीनवटै अङ्गले सेवा प्रवाह गरिरहेको उहाँले बताउनुभयो ।
ललितपुर महानगरपालिकाले संस्कृति संरक्षण र सम्पदा पुनर्निर्माणको काममा महìवपूर्ण भूमिका खेलिरहेको भन्दै उहाँले भूकम्पपछिको पुनर्निर्माण कार्यमा महानगरपालिकाले उल्लेख्य सफलता हासिल गरेको बताउनुभयो । उहाँले भन्नुभयो “स्वच्छ सफा हराभरा महानगर बनाउन महानगरपालिका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तीनवटै तह मिलेर काम गर्नुपर्छ । ”
कर्मचारी सम्मानित
१०३औँ स्थापना दिवसको अवसरमा महानगरपालिकाले २५ वर्षभन्दा बढी सेवा गरेका १५ जना कर्मचारी र महानगरपालिकाको उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाले विकास निर्माणसँगै सम्पदा पुनर्निर्माण र हरियाली प्रवद्र्धनमा उच्च प्राथमिकता दिएर काम गर्दै आएको जानकारी दिनुभयो । महानगरपालिका क्षेत्रका
कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख २० हजार, कोरोना पीडित भई आईसीयू र सीसीयूमा भर्ना भई बसेका व्यक्तिलाई ६० हजार तथा अस्पताल भर्ना भई अन्य शय्यामा बसेका व्यक्तिलाई प्रतिव्यक्ति ३० हजार नबढ्ने गरी महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले चेक हस्तान्तरण गर्नुभयो । स्थापना दिवसकै अवसरमा महानगरपालिका भित्रका खेलकुदका ए, बी, सी क्लबलाई विभिन्न रकमसहितको चेक हस्तान्तरण गरिएको थियो ।
महानगरपालिका उपप्रमुख गीता सत्यालले महानगरपालिकाले भौतिक विकास, सम्पदा संरक्षण र हरियाली प्रवद्र्धनमा उपलब्धिमूलक काम भएको बताउनुभयो । वि.सं. १९७५ मा पाटन सवालको नाममा स्थापना भएको हालको ललितपुर महानगरपालिका वि.सं. २००८ मा ललितपुर नगरपालिका, २०१८ मा ललितपुर नगरपञ्चायतको रूपमा सेवा प्रवाह गर्दै आएको थियो । त्यस्तै २०४७ सालमा ललितपुर नगरपालिका, २०५२ सालमा ललितपुर उपमहानगरपालिका हुँदै २०७३ चैत १० गते ललितपुर महानगरपालिका बनेको ललितपुर महानगरपालिकाले जनाएको छ ।