पहेलोँ धातुसहित दुई जना बंगलादेशी नागरिक पक्राउ
काठमाडौं, पुस ३ गते । सुनजस्तो देखिने धातुसहित दुईजना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाईछिपाई लैजान लागेको ५९० ग्राम सुन जस्तो देखिने पहेंलो धातुको बिस्कुट आकारको वस्तु, चेन, औंठी, ईएर रिङ, झुम्का र चुरासहित दई जना बंगलादेशी नागरिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू राहदानी नम्बर इएफ ०३९४७४१ बाहक २२ वर्षीय सलमान अहमेद र राहदानी नम्बर बिटि ०२१२१५४ बाहक ३० वर्षीय एमडि अबु जिहाद रहनुभएको छ ।
अहमेदको साथबाट ३३० ग्राम र जिहादको साथबाट २६० ग्राम सुनजस्तो देखिने धातु बरामद गरेको प्रहरीले जनाएको छ । हिमालयन एयरलाईन्सको उडानद्धारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका दुबै जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ह्याण्ड ब्यागेज चेकिङ एरियामा विमानस्थल प्रहरी र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त परिमाणको धातु फेला परी पक्राउ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।