चिरीमायाको २० वर्ष, परालका त्यान्द्रा बटार्दै कसिला सामान बनाउँदै
सनम महर्जन, दृश्यमा मनाेजरत्न शाही/केशब गुरूङ्ग
काठमाडौं, पुस ६ गते । ललितपुरको सिद्धिपुर देबननी चोकको सानो मन्दिर छेउमा पुग्दा पुसको पारिलो घाममा पिठ्युँ फर्काएर केही महिला आफ्नो काममा तल्लीन छन् । हल्का भिजाइएका परालका त्यान्द्रा जोडेर तीनजना महिला आफ्नै सुरमा काम गरीरहनु भएको छ । फुर्सदको समयमा सुकुल चकटी लगायतका विभिन्न खाले सामग्री बनाउनु सिद्धिपुरका बासिन्दाको दैनिकी नै हो ।
सामान्यतया बालीनाली भित्र्याए पछि हिँउदमा सुकुल बुन्ने आम प्रचलन भए पनि सिद्धिपुरकी ७५ वर्षीय चिरीमायाँ महर्जनका लागि बाह्रै महिना परालका त्यान्द्रा समेटेर नयाँनयाँ सामाग्री बनाउनु दैनिकी नै हो । उहाँले विगत २० वर्षदेखि सुकुल बुन्दै आउनुभएको छ । तर अहिले सुकुलमा मात्र सिमित नभएर उहाँ परालका विभिन्न डिजाइन बनाउनेतिर आर्कषित हुनुभएको छ ।
सिद्धिपुरलाई सुकुलको देश पनि भनिन्छ । यहाँका सिल्पीले बुनेका कसिला सुकुल उपत्यका लगायत देशका अन्य भागमा पुग्छन् । नेपाल भाषामा ‘सु’ भनेको पराल हो र ‘कुल’ भन्नाले खलक वा कुटुम्ब भने बुझिन्छ । नेपालमा सबैभन्दा धरै चाडपर्व मनाउनेहरूमा नेवार पर्छन् । नेवार समुदायले हरेक महिनामा एक, दुई वटा चाडपर्वहरू प्राचीन समयदेखि नै मनाउँदै आइरहेको छ । विशेषगरी भोजभतेर वा अन्य कार्यहरूमा आफ्ना कुलका सबैजना मिलेर सँगै बसेर मनाउने गर्छन जुन आजसम्म पनि यथावत नै छ । यसरी हरेक चाडबाड, जात्रापर्व अनि भोजमा कुलका सदस्यहरूलाई बसाउन सुकुलको प्रयोग गरिन्छ । यही अधारमा सुकुलको नामाकरण भएको विश्वास छ ।
नेपाल भाषामा झ्या : पछि नेपालीमा झ्याल हुनगए जस्तै नेपाली भाषाबाट बोलीचालिमा कुलका मासिन बसेन भोज सुकुल हुन गएको आम मानिसको विश्वास रहेको छ । ललितपुर अवस्थित सिद्धिपुरलाई सुकुलको देश भनेर चिनिन्छ । सिद्धिपुरकी ७५ वर्षीय चिरीमा महर्जनले गत २० वर्षदेखि सुकुल बुन्दै आउनुभएको छ । तर अहिले सुकुलमा मात्र सिमित नभएर उहाँ परालका विभिन्न डिजाइन बनाउनेतिर आर्कषित हुनुभएको छ । सुरुमा उहाँले ाफ्नो लागि मात्र बुनेको परालका सुकुल बुन्नु भयो तर अहिले उहाँले परालबाट बनाएका विभिन्न सामानले अहिले व्यापारको रुप लिएको छ ।
‘पहिले सुकुल आफ्नै घरको लागि बनाउने गर्थें । अहिले पसलका लागि अर्डर आउँछ, काम बढेको छ । प्राय रेष्टुरेन्टहरुबाट अर्डर आउँछ’, उहाँले भन्नुभयो । महर्जनले सुकुल बाहेक परालका विभिन्न डिजाइन बनाउनुहुन्छ । टेबल, मुडा, सोफा, परालबाट बनेको भगवानको मूर्ति लगायत जुनसुकै डिजाइनमा सामान बनाउन सक्ने उहाँले बताउनुभयो ।
‘आफैंले सिकेको, कुनै तालिम लिएको छैन । यसरी आफूले जानेको सिप अरुलाई सिकाउन म हिचकाचाउँदिन, सबैलाई सिकाउँछु’, उहाँले भन्नुभयो । तालिम दिनका लागि उहाँ पाल्पा, गुल्मी लगायत अन्य ठाउँमा जानुभएको थियो । मुडा, टेबल, सोफा बनाउने तालिम दिन उहाँ प्रायः विभिन्न ठाउँमा जाने बताउनुभयो ।
यस्तै सिद्धिपुरका बालकुमारी महर्जनले परालको काम सुरु गर्नुभएको चार वर्ष कटिसक्यो । सुरुमा बुन्न गाह्रो थियो, लाइन नै मिलाउन गाह्रो, उहाँ भन्नुहुन्छ । उहाँका अनुसार, सुकुलभन्दा मुडा बनाउन धेरै समय लाग्छ, मुडाको आकार निकाल्न सजिलो छैन । ‘काम अनुसार कमाई छैन, यो पेशाले जीवन धान्न सकिँदैन । सुकुल किन्ने मान्छे छैनन्, घरमा थुपारेर राख्नुपर्छ’, उहाँ भन्नुुहुन्छ, एउटा ठूलो सुकुलमा भने १० देखि १२ हजारसम्म कमाई हुन्छ ।
सुकुलभन्दा मुडा र टेबलमा राम्रो आम्दानी हुन्छ । तर बिक्रीको हिसाब गर्ने हो भने, सुकुल धेरै बिक्री हुन्छ । स्वास्थ्यका हिसाबले पनि राम्रो मानिने सुकुलको व्यापार अहिले बिस्तारै हराउँदै गएको सुकुल व्यवसायीहरु बताउनुहुन्छ । ‘बाठ’ रोगका बिरामीलाई परालबाट बनेको जुत्ता एकदम लाभदायी रहेको उहाँले बताउनुभयो ।
फोम र स्पोन्ज आएकोले सुकुल व्यवसाय बन्द भयो, सिद्धिपुरका सुकुल व्यवसायी भन्नुहुन्छ । पहिले त सुत्ने खाटमा समेत सुकुल बिछ्याउने चलन थियो, तर अहिले स्प्रिङ भएको ओछ्यान आएको छ जुन शरीरका लागि हानिकारक छ, उहाँले भन्नुभयो ।
काम सुरु गर्दा एउटा सुकुलको पाँच रुपिँया थियो । अहिले एउटा सुकुलको पाँच सयभन्दा बढी पुगिसक्यो । उहाँ भन्नुहुन्छ, कमाई नभए पनि यो कामबाट सन्तुष्ट छु । अलिअलि घरखर्च अनि बच्चाहरुलाई चक्लेट किन्दिन पुग्छ ।