राष्ट्रिय | राजनीति | प्रदेश |

स्थिर सरकार बनाउने जिम्मेवारी काँग्रेसको काँधमा : महामन्त्री शर्मा

विष्णुप्रसाद पोखरेल
दमक, पुस ७ गते । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा कम्तिमा पनि लगातर तीन कार्याकाल १५ बर्ष काँग्रेसको सरकार बन्नेगरी काम गर्नुपर्ने कार्यभार आफूहरुमाथि आइलागेको बताउनुभएको छ ।

महामन्त्रीमा निर्वाचित हुनुभएपछि पहिलो पटक गृह जिल्ला झापा आउनुभएका शर्माले बुधबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै राजनीतिमा रुपान्तरण आजको आवश्यकता भएको बताउनुभयो । राजनीतिक स्थायित्व र स्थिर सरकार बनाउन काँग्रेस दर्बिलो बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

आन्तरिक निर्वाचन समयमा जो जहाँ भएपनि अब काँग्रेसलाई एक ढिक्का बनाएर जनताको मन जित्नेगरी काम गर्नुपर्ने उहाँले बताउनुभयो । देशमा आएको परिवर्तन तथा विकासमा काँग्रेसको महत्वपुर्ण भूमिका रहेको दावी गर्नुहुँदै उहाँले बलियो काँग्रेस बनाउने अहिलेको आवश्यकता भएको चर्चा गर्नुभयो ।

अब काँग्रेसले झापाका सबै क्षेत्रमा आफ्नो नेतृत्वमा निर्वाचन जित्ने उहाँले दाबी गर्नुभयो । “तपाई हाम्रो अबको बिचार र उद्देश्य अब रुपान्तरित काँग्रेस र विजयी काँग्रेस हुनुपर्दछ” शर्माले भन्नुभयो । वाह ! काँग्रेस आयो भन्ने अवस्था सिर्जना गर्न सबै लाग्न जरुरी रहेको उहाँले बताउनुभयो ।

अहिलेको राजनीतिक ब्यवस्था खराव नभएको भन्दै यस भित्रको अब्यवस्था चाँहि खराव भएको उहाँले बताउनुभयो । शर्मालाई झापा आँउदा चन्द्रगढी बिमानस्थलमा संयौ स्थानीय नेता कार्यकर्ताहरुले स्वागत गर्नुभएको थियो ।