राष्ट्रिय | फोटो फिचर |

दैनिक आधा किलोमिटर कालोपत्रे हुँदै हुलाकी राजमार्ग (फोटो फिचर)


जानु पाण्डे
कपिलवस्तु, पुस ८ गते । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत कपिलवस्तुमा कालोपत्रेको काम धमाधम सुरु भएको छ । पहिलो खण्ड अन्तर्गत महाराजगन्ज नगरपालिकाको राजपुरदेखि कपिलवस्तु सदरमुकाम तौलिहवाको जमुवार पुलसम्म सडक कालोपत्रे हुन लागेको हो । उक्त खण्डमा एक साता अगाडिदेखि कालोपत्रे गर्ने कार्य सञ्चालनमा आएको छ । दैनिक पाँच सय मिटरको दरले कालोपत्रे भएको हुलाकी राजमार्ग सडक आयोजना कार्यालयका प्रमुख विष्णुबाबु पाण्डेले बताउनुभयो ।

एक साताभित्र दुई किलोमिटर कालोपत्रे भएको छ । चैत्र मसान्तसम्म पहिलो खण्ड पूरा गर्ने लक्ष्य लिइको छ । बजार क्षेत्रमा चार लेन र अन्य क्षेत्रमा डेडिकेटेड दुई लेन गरी कुल १५ किलोमिटर कालोपत्रे सम्पन्न गर्ने गरी द्रुतगतिमा काम अगाडि बढेको छ । निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्धक इन्जिनियर नवीन शर्माले तौलिहवा बजारमा खानेपानीको पाइप राख्ने काम र महाराजगन्जको बरगदीमा स्थानीयको विवादले समस्या भएको बताउनुभयो । अवरोध हटेको खण्डमा निर्धारित समयमा काम सक्ने शर्माले विश्वास दिलाउनुभयो ।

कपिलबस्तुमा हुलाकी राजमार्गका करिब आधा काम सम्पन्न भएको छ । राजमार्गका बाकी २ खण्ड राजपुर–दत्तपुर र दत्तपुर–तुरन्तपुर खण्डमा कल्भर्ट निर्माण र सब बेस तथा बेस हाल्ने काम भइरहेको कार्यालयका इन्जिनियर शरद आचार्यले बताउनुभयो । यसैगरी महेन्द्र राजमार्ग र हुलाकी जोडने २ सडकको काम सञ्चालनमा रहेका छन् । जितपुर–तौलिहवा सर्भिस लेन अन्तर्गत पक्की नाली निर्माणको काम सम्पन्न भई सब बेस राख्ने काम सञ्चालनमा आएको छ । सो खण्ड चैत्र मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । यसै गरी खरेन्द्रपुर–भिल्मी खण्डमा टेवा पर्खाल निर्माण र कल्भर्ट निर्माण हुँदै गरेको बताइएको छ ।

जिल्लामा हुलाकी राजमार्ग अन्र्तगत ७४ किलोमिटर सडक निर्माणको चरणमा छ । कुल दुई अर्ब ६२ करोडमा टेन्डर स्वीकृत भई २०७६ साल मंसिरबाट काम सुरु भएको थियो । कोरोनाको असर सडक निर्माणमा परे पनि हाल सडक निर्माण द्रुतगतिमा चलेको छ । राजमार्गमा पर्ने ४ पुलमध्ये सोइया खोलाको पुलको काम सम्पन्न भएको छ । कञ्चनिया, चिराई र सुराई खोलामा पुलको काम ५० प्रतिशत काम सम्पन्न भएको छ । कुल १८० कल्भर्टमध्ये १५० भन्दा बढी निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।