‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा मेरो हो : खनाल
गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ९ गते । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारले सारेको ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा आफूले ल्याएको दाबी गर्नुभएको छ ।
नेता खनालले नेकपा एमालेको नवौँ महाधिवेशनमा आफूले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा अघि सारेको दाबी गर्नुभएको छ । बिहीबार काठमाडाैंमा राजनीतिज्ञ बद्रीप्रसाद खतिवडाको पुस्तक अभियन्ता विमोचन कार्यक्रममा बोल्दै नेता खनालले सो नारालाई नेपालीको सपनाका रूपमा अघि सारेको भन्नुभयो ।
उहाँले नेपालमा कम्युनिस्ट आन्दोलनले एक दशक पार गर्ने सन्दर्भमा सुखी नेपाली र समृद्ध नेपालको नारा सार्थक हुने भएकाले सो विषयलाई अघि सारेको र सार्थक बनेको दाबी गर्नुभयो । नेता खनालले आफूले अघि बढाएको नारालाई केपी शर्मा ओलीको सरकारले अघि बढाएर चर्चा कमाएको भन्नुभयो । खनालले समाजवाद नै आफूहरूको अन्तिम लक्ष्य रहेको बताउनुभयो ।