राष्ट्रियता बलियो बनाउनुपर्छ : राप्रपा महामन्त्री शाही
काठमाडौं, पुस ११ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित महामन्त्री कुन्ति शाहीले राष्ट्रियता बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा आइतबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा आफ्नो शुभकामना मन्तव्य राख्दै उहाँले सो कुरा भन्नुभएको हो ।
उहाँले महाधिवेशनमा जनताले चाहेका विषयमा छलफल गर्न आग्रह गर्नुभएको छ ।
विचार र वादहरु फरक भए पनि देश पहिले हुने उहाँको धारणा थियो । विचार मात्र होइन राष्ट्रियता बलियो बनाउनुपर्ने उहाँको धारणा थियो । बलियो अर्थतन्त्र र राष्ट्रियता बलियो बनाउन सबै जना जुट्नु पर्ने उहाँले बताउनुभयो । युवाहरुलाई देशमा नै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्ने उहाँले जोड दिनुभयो ।
‘म यहाँ मञ्चमा बस्नुभएका नेताहरूभन्दा फरक विचार राख्ने दलको प्रतिनिधित्व गर्छु, तर तपाईं र हाम्रो विचार फरक छ, अझ विशेष गरेर माओवादी केन्द्रको विचारसँग हाम्रो वैचारिक भिन्नता छन्,’ उहाँले भन्नुभयो, ‘तर हामी यो देशको विकासका लागि यही भूमिमा जन्मिएका दलहरू हौं, त्यसैले अब विचारतिर होइन, राष्ट्रियता बलियो बनाउनमा केन्द्रित बनौं, बलियो अर्थतन्त्र भएको देश बनाउनमा केन्द्रित बनौं ।’