नेपालको समृद्धिको सपना साकार हुन्छ : अध्यक्ष ओली
विष्णुप्रसाद पोखरेल
दमक, पुस ११ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासको गति बढ्दैगएकाले नेपालीको समृद्धिको सपना साकार बन्ने दिशामा रहेको बताउनुभएको छ । अब विकासका योजना तथा परियोजनाहरु सञ्चालन गर्दा ब्यवस्तिथ र योजनाबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
आफ्नो निर्वाचन क्षेत्र झापाको क्षेत्र नं. ५ को दमकमा निर्माणाधिन भ्यूटावरको अवलोकन र ३५ बिपन्न परिवारलाई घरको ताल्चा बितरणको कार्यक्रमलाई आईतवार सम्बोधन गर्दै अध्यक्ष ओलीले विकसित देशमा देखिएजस्तो संरचनाहरु बनाउन नेपाली सक्षम रहेको बताउनुभयो ।
भ्यूटावर आसपासको क्षेत्रमा अब बस्ति विकासको काम शुरु गर्नुपर्नेमा जोड दिदै बाटोघाटो, ढल निकास, सार्वजनिकस्थल, खेलमैदान, स्कूललगायतका आवश्यकीय संरचना निर्माणका लागि जग्गामा लोभ नगर्न पनि उहाँले स्थानीयसँग आग्रह गर्नुभयो । पुर्व प्रधानमन्त्री ओलीले आफुले निर्वाचनको समयमा यस क्षेत्रका बासिन्दासँग गरेको प्रतिबद्धता नभुलेको बताउनुभयो । यहाँहरुसँग निर्वाचनको समयमा गरेको बाचा र प्रतिबद्धतालाई मैले भुलेको छैन, उहाँले भन्नुभयो । मेरो सपना र दृढ संकल्प भनेकै जनताको मुहारमा खुशी ल्याउनु हो उहाँको भनाई छ ।
सरकारका कामले गति लिनासाथ सरकार ढाल्ने प्रवृति बढेको पनि उहाँले टिप्पणी गर्नुभयो । अब निर्वाचनको माध्यमबाट फेरि एमाले सरकारको नेतृत्वमा पुग्ने दाबी ओलीले गर्नुभयो । झापाको दमक नगरपालिका –३ को दापगाछीमामा अध्यक्ष ओलीको पहलमा नेपालकै सबैभन्दा अग्लो भ्यूटावर निर्माणाधिन अवस्थामा छ । भ्यूटावरको ५० प्रतिशत काम पुरा भएको सो अवसरमा जानकारी दिइएको थियो ।